नेकपा (एमाले)ले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक उम्मेदवारको सूचीलाई अन्तिम रुप दिएका हुन्।
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ पहिलो नम्बरमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नाम राखिएको छ। यसअघि आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा रामेश्वर राना मगरको नाम रहेको थियो।
आइतबार बसेको एमाले सचिवालयले बैठकले पारित गरेको सूचीमा मगर पहिलो नम्बरमा थिए। एमाले अध्यक्ष ओलीले अन्तिम समयमा नाम फेरबदल गरेको एक पदाधिकारीले बताए। अध्यक्ष ओलीले सूचीमा हेरफेर गर्दै उपाध्यक्ष बादललाई पहिलो नम्बरमा राखेका हुन्।
सोबार साँझ एमाले केन्द्रीय सदस्य तथा निर्वाचन विभागका सदस्य निरज आचार्य नेतृत्वको टोलीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएको हो।
२०७७ सालमा नेकपा टुक्र्याउने सर्वोच्च अदालतको फैसलापछि बादल नेकपा (माओवादी) केन्द्रमा नगएर एमालेमै बसेका थिए।
उनी भरखरै सम्पन्न एमालेको एघारौँ महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका छन्। उनलाई एमालेमा अध्यक्ष ओलीपछिको दोस्रो वरीयतामा राखिएको छ।
Shares

प्रतिक्रिया