जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने जेन–जीको मागलाई सरकारले बेवास्ता गरेको बताएका छन्।
जनकपुरधाममा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले पहिला संविधान संशोधन र त्यसपछि मात्रै निर्वाचन गर्नुपर्ने युवाहरुको माग रहेको उल्लेख गरे।
उनले सरकारले युवाहरूसँग केही दिनअघि मात्रै सम्झौता गरेको तर कुनैपनि कुराहरू अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले आन्दोलनकारी युवाहरूको साथमा सरकारले धोका दिएको बताए। लोकतन्त्रमा निर्वाचन महत्वपूर्ण रहेको बताउँदै आफूहरू निर्वाचनमा जान तयार रहेको बताए।
उनले भने, ‘चुनाव भन्दा पहिला संविधान संशोधन हुनुपर्छ। जे माग युवा पुस्ताले राखेका छन्, युवा पुस्तासँग सरकारले संविधान संशोधन लगायतका विषयमा सम्झौता गरेको छ। त्यो अलिकति पनि अघि बढेको छैन। आन्दोलनकारी युवाहरुको साथमा धोका भएको छ। युवाहरुलाई मजाक बनाइएको छ। तर पनि लोकतन्त्रमा निर्वाचन महत्पूर्ण हुन्छ। चुनाव लड्न तयार छौँ। हामी जनताको अधिकारका लागि लड्न तयार छौँ।’
मधेसका जनतालाई अधिकार सम्पन्न बनाउन र शिक्षा, स्वास्थ्यको ग्यारेन्टीका लागि निर्वाचन लड्न लागेको यादवले बताए।

प्रतिक्रिया