राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहबीच आफूहरूको चाहना बमोजिम नै एकता भएको भन्दै जेनजी प्रतिनिधि तथा भदौको आन्दोलनका घाइतेहरूले खुसी व्यक्त गरेका छन्। तर, उनीहरूलाई आफ्नो समर्थन निसर्त नभएको जेनजीको भनाइ छ।
अब रवि र बालेनले जेनजीका लोकप्रिय अनुहारलाई पार्टीमा बोलाउने होइन, एजेन्डालाई स्थापित गर्न जोड दिनुपर्ने उनीहरूले बताए।
जेनजी प्रतिनिधिहरूले रवि, बालेन र कुलमान घिसिङ एकै ठाउँमा आउनुपर्ने बताउँदै आएका थिए। तर, आइतबार बिहान रवि र बालेनका बीच मात्र सहमतिमा हस्ताक्षर भएको छ। पार्टीको नाम, चिह्न र सभापति अहिलेकै कायम राखेर बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषित गरिएको छ।
कुलमानको उज्यालो नेपाल पार्टीले बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीसँग एकताको संवाद अघि बढाएको छ।
घाइते जेनजी बिजेस गोले बालेन र रविबीच भएको सम्झौता सकारात्मक रहेको बताउँछन्।
‘भोलिको दिनमा जेनजीको मर्मलाई बुझ्ने वैकल्पिक शक्ति भनेकै बालेन, रवि, कुलमान, हर्क लगायतका नयाँ उदाएका दल, समूह र व्यक्ति भएकाले उहाँहरू एकीकृत भएर आउनु पर्छ,’ उनले भने।
रास्वपाप्रति आफूहरूको अपेक्षा रहेको बिजेस बताउँछन्।
‘जेनजी आन्दोलनका घाइते र सहिदको बलिदानलाई सकारात्मक रूपमा लिएर उहाँहरूले संसदमा यो कुरा उठाउनुहुन्छ भन्ने आशा राखेको छु,’ गोलेले भने।
काउन्सिल अफ जेनजीका सुदूरपश्चिम प्रदेश संयोजक खेमराज साउद रवि–बालेन मिलनको कारक नै जेनजी भएको बताउँछन्।
‘राजनीतिक हिसाबमा बालेन–रवि मिल्ने कुनै आधार नभएको हुनाले यो एकतामा जेनजीको सबैभन्दा ठूलो हात छ,’ खेमराजले भने, ‘अबका दिनमा पनि दललाई बलियो बनाउन सहकार्य, समन्वय गर्दै अगाडि बढ्छौँ।’
दलमा जेनजी प्रतिनिधि, घाइते जेनजी र सहिद परिवारको कुन स्थान हुने भन्ने विषयमा छलफल हुनुपर्ने उनको माग छ।
उपार्जुनको प्रश्न : पपुलर अनुहार समेट्ने कि मुद्दा?
काउन्सिल अफ जेनजीका कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङ नयाँ दल आए तापनि त्यसले के–के एजेन्डाहरू बोकेर आउँछ भन्ने ख्याल गर्नुपर्ने बताउँछन्।
‘आन्दोलनलाई औपचारिकता दिने सन्दर्भमा जेनजी आन्दोलनलाई संस्थागत गर्ने भन्दै जेनजीमध्ये पनि एउटा पपुलर अनुहारलाई आफ्नो दलमा राख्ने र त्यसलाई राख्नेबित्तिकै सबै जेनजी समेटियो भन्ने धारणाले दीर्घकालमा क्षति पुर्याउँछ। दलले पपुलर अनुहारलाई समेट्ने हो कि मुद्दालाई भन्ने कुरामा अझै ध्यान जानु पर्छ।’
लोकप्रिय अनुहारलाई भन्दा पनि जायज मुद्दा बोकेका जेनजीलाई समेट्नु पर्ने उनको धारणा छ।
रवि र बालेनबीचको सम्झौताबारे उनले थपे, ‘पहिलो बुँदामा नै जेनजीका मुद्दाहरू राख्नु भएको छ। अब त्यो कागजको कुरा चुनावको तागतबाट संसद् हुँदै इतिहासमा लेखाउन भूमिका खेल्नु भयो भने ह यो सम्झौतालाई सकारात्मक नै मान्नु पर्छ।’
छलफल चल्दै गर्दा एजेन्डाभन्दा पदको बाँडफाँटमा धेरै अलमलिएको भन्दै जेनजी आन्दोलनको मर्म मर्ने हो कि भन्ने डर लागेको उनले बताए।
माग र एजेन्डाका कुरा भन्दा पनि को–कुन पदमा हुने भन्ने कुरा बढि सुन्दा जेनजीको मर्म नै मर्ने हो कि भन्ने आफूलाई लागेको चाम्लिङ बताउछन्।
‘जनताको अपेक्षामा कुलमान, बालेन र रवि लगायतका व्यक्ति सबै जना मिलेर आइदिए हुन्थ्यो भन्ने छ,’ उनले भने, ‘अहिलेको सन्दर्भमा जेनजी आन्दोलनले स्थापित गरेका प्रमुख एजेन्डालाई कत्तिको प्राथमिकतामा राखेको छ भन्ने कुरामा हाम्रो चासो छ र यस्ता एजेन्डा नभएका दलहरूलाई वास्तविक विकल्पको रूपमा जनताले ग्रहण गर्छ कि गर्दैन भन्ने प्रश्न रहन्छ।’
उनले थपे, ‘नयाँ आउनुभो भन्दैमा गइहाल्ने होइन, उहाँले के बोकेर ल्याउनुभको छ भन्ने कुरामा हामी अझै पनि पूर्ण रूपमा विश्वस्त भइसकेको अवस्था छैन। नेपाली राजनीतिमा विकल्पको रूपमा आउनको लागि जुन खालको साहस गरिरहनु भएको छ त्यसमा भने उहाँहरूलाई स्वागत गर्नुपर्छ।’
काउन्सिल अफ जेनजीकै बागमती प्रदेश संयोजक अफ्साना बानु पनि बालेन–रवि एकताबाट एकदमै खुसी भएको बताउँछिन्। यद्यपि, आफूहरूले ‘वाचडग’को भूमिका नछाड्ने उनीहरूको भनाइ छ।
‘अहिलेसम्म हामी स्वतन्त्र छौँ, यदि जेनजीका मागहरू बोकेन भने चाहे त्यो बालेन, रवि, कुलमान कसैको पनि दल किन नहोस्, हामी मिसिँदैनौ, यो हाम्रो अडान हो,’ उनले भनिन्।
पुराना दलहरूलाई पराजित गर्ने र नयाँ शक्तिलाई सँगै ल्याउने आफूहरूको पहिलेदेखिकै लक्ष्य भएको हुनाले बालेन र रवि मिलेकोमा आफू सकारात्मक रहेको र कुलमान पनि आउनुपर्ने अफ्सानाले बताइन्।
‘चुनावमा जाँदै गर्दा जेनजीका म्यान्डेट उहाँहरूले छाड्नुभयो भने हामीले पनि समर्थन फिर्ता गर्नैपर्छ,’ उनले थपिन्।
Shares

प्रतिक्रिया