राजनीति


बालेनसँग गरेको सहमति कुलमानसित गर्न चाहन्थ्यो रास्वपा

कार्यदल सदस्य शिशिर खनाल भन्छन् : हामी अझै नछाड्ने पक्षमा छौँ, पहल गर्छौँ
बालेनसँग गरेको सहमति कुलमानसित गर्न चाहन्थ्यो रास्वपा

कुलमान घिसिङको फाइल तस्बिर र सहमतिमा हस्ताक्षरपछि अंकमाल गर्दै रवि र बालेन।


नेपालखबर
पुस १३, २०८२ आइतबार १४:२, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने लक्ष्यसहित आफ्नै पार्टीबाट चुनाव लडाउने सहमति गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई पनि समेट्ने प्रयास जारी राख्ने जनाएको छ। 

बालेनसँग सहमतिका लागि गठित कार्यदलका सदस्यसमेत रहेका रास्वपा नेता शिशिर खनालले शनिबार मध्यरातिसम्म प्रयास गर्दा पनि असफल भएपछि कुलमान छुटेको बताउँदै अझै पनि पहल जारी राख्ने जानकारी दिएका हुन्।

उनका अनुसार रातभरको वार्तापछि आइतबार बिहान बालेनसँग भएको सहमति नै ऊर्जामन्त्री कुलमानसँग गर्न खोजिएको थियो।सहमति गरेरै छाड्ने भनेर यसअघि यस्ता वार्तामा खासै नबस्ने रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेसमेत शनिबार राति वार्तामा सहभागी भएका थिए।

बालेनले पार्टीमा पद नचाहिने भनेका कारण कुलमानसँग पदीय बाँडफाँट पनि मिल्नेमा रास्वपा नेताहरू निकै आशावादी थिए। तर पनि सफल हुन नसकिएको रास्वपा नेता खनालले दुखेसो गरे। 

‘हिजो त म संवादमा थिइनँ कुलमानजीसँग, मेयर साबले नै दुई-तीन राउन्ड भेट्नुभएको थियो। अन्तिमसम्म पनि हिजो प्रयास गरेकै हो, राति १२ बजेसम्म, कुलमानजीलाई पनि लगेरै जाने भनेर हाम्रा उपसभापतिहरू पनि जानुभएको थियो वार्तामा, पदका विषयमा पनि टुंग्याइदिने भनेर। नत्र वार्तामा हाम्रा दुइटै सभापति बस्नुहुन्न नि त पहिला-पहिला। पर्‍यो भने डा स्वर्णिम वाग्लेचाहिँ बस्नुहुन्थ्यो उहाँचाहिँ हाम्रो संवाद समितिको संयोजक भएकाले। डीपी सरलाई पनि राखेको चाहिँ बालेनले पद लिन्नँ भनेपछि तनाव थिएन हामीलाई। पर्‍यो भने हिजै राति टुंग्याइदिने भन्ने हाम्रो तयारी थियो’, निवर्तमान सांसदसमेत रहेका खनालले आइतबार बिहान नेपालखबरसँग भने, ‘पछि सम्पर्क हुन सकेन भन्ने कुरा आयो। राति ११ बजेपछिको कुरा होला त्यो। अझै प्रयास गर्ने भन्ने छ। हामी त एकदमै ओपन नै छौँ। बालेनसँग जे सहमति गर्‍यौँ, त्यो सहमति त पहिला कुलमानजीसँग गर्न खोजेका हौँ नि त! पहिलो अफर त कुलमानजीलाई नै गरेका हौँ नि त! हामी अझै पनि नछोड्ने भन्नेमै छौँ। पहल गर्छौँ।’ 

रास्वपासँग बालेनले गरेको सातबुँदे सहमतिमा पार्टी सभापति रवि नै रहने र आगामी निर्वाचन जितेपछि बालेनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बनाउने उल्लेख छ।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad