आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दोलखाले प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ १० जनाको नाम सिफारिस गरेको छ।
नेकपा जिल्ला कमिटीको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो। एउटै निर्वाचन क्षेत्र रहेको दोलखामा प्रत्यक्षतर्फ बागमती प्रदेशका पूर्वमन्त्री विशाल खड्का, दोलखाको मेलुङ गाउँपालिकाका पूर्वअध्यक्ष गोपाल न्यौपाने र राप्रपा दोलखाका पूर्वअध्यक्ष नरबहादुर पाख्रिनको नाम सिफारिस गरेको छ।
खड्का २०७४ सालको आम निर्वाचनमा बागमती प्रदेश सभा सदस्य पदमा विजयी भएका थिए। त्यतिवेला उनी प्रदेशको वन तथा वातावरण मन्त्री बनेका हुन्। तत्कालिन नेकपा (माओवादी केन्द्र) का प्रखर नेताको परिचय बनाएका खड्काको नाम पहिलो नम्बरमा छ।
यता, नेकपा (एमाले) बाट २०७४ सालको स्थानीय तह निर्वाचनमा मेलुङ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका गोपाल न्यौपाने एमाले विभाजन पश्चात् तत्कालिन नेकपा (एकीकृत समाजवादी) मा सक्रिय भएका नेता हुन्। न्यौपानेको नाम दोस्रो नम्बरमा सिफारिस गरिएको छ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला अध्यक्ष पद परित्याग गरी तत्कालिन नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका नरबहादुर पाख्रिनको नाम तेस्रो नम्बरमा सिफारिस गरिएको छ।
नेकपाले युवा क्लस्टरबाट जेविन रिमाल शर्मा र महिला क्लस्टरबाट रुलर एमको नाम सिफारिस गरेको छ। जिल्लाका नेताबीच सहमति जुट्न नसक्दा प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको बताइएको छ।
समानुपातिकतर्फ १० जनाको नाम सिफारिस भएका छन्। जसमा चुनु केसी खड्का, रिता रिमाल, महेन्द्रबहादुर कार्की, संगिता पाख्रिन, शान्ता थामी, टीकाराम दियाली, दीपक धनुके, सोम तामाङ, पासाङ शेर्पा र छिरिङ शेर्पाको नाम सिफारिस गरेको हो।
Shares

प्रतिक्रिया