भारत प्रशासित कास्मिरमा सुरक्षाकर्मी र लडाकुबीच झडप हुँदा ९ जनाको मृत्यु भएको छ।
भारतीय अधिकारीले आइतबार दिएको जानकारीअनुसार झडपमा ५ भारतीय सुरक्षाकर्मी र ४ लडाकुको मृत्यु भएको हो।
तनावग्रस्त भारतीय हिमालय क्षेत्रमा कास्मिरलाई दिएको अर्ध–स्वायत्त व्यवस्थालाई केन्द्र सरकारले गत वर्षको अगस्टमा खारेज गरेपछि आणविक शक्ति सम्पन्न पाकिस्तानले विरोध गरिरहेको छ।
अर्ध–स्वायत्त व्यवस्था हटाउने सरकारको निर्णयको कास्मिरी नागरिकको एउटा समूहले विरोध गरिरहेको छ। कास्मिरका सक्रिय कतिपय समूहलाई भारतले आतंकवादीको संज्ञा दिएको छ।
भारत र पाकिस्तान दुई अलग मुलुक बनेसँगै विभाजित त्यहाँको समाजका कारण उक्त क्षेत्रमा हजारौं व्यक्तिको मृत्यु भइसकेको छ।
‘पाकिस्तानसँगको सीमाक्षेत्र नजिक रहेको चङ्गीमूलमा भएको भिडन्तमा दुई अधिकृतसहित चार सैनिक, एक विद्रोहीविरूद्ध तैनाथ विशेष प्रहरी दस्ताका जवान र दुई विद्रोहीको मृत्यु भएको छ,’ भारतीय सेनाका प्रवक्ता कर्नेल राजेस कालियाले भने।
सुरक्षाकर्मीले कास्मिरको बस्तीमा रहेको एक घरमा खानतलासी गर्ने क्रममा विद्रोही लडाकुले व्यापक रूपमा गोली चलाएपछि भएको झडपमा उनीहरूको मृत्यु भएको सैनिक प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सेनाको विज्ञप्तिमा एक जना प्रहरी अधिकारीसहित ती मानिस उक्त घरमा किन बसेका थिए भन्ने खुलाइएको छैन। तर एक प्रहरीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एएफपीसँग भनेका छन्, ‘खानतलासी क्रममा त्यहाँ पुगेको सुरक्षाकर्मी धरापमा परेको थियो।’ रासस/एएफपी

प्रतिक्रिया