राजनीति


आगामी चुनावमा उम्मेदवार नबन्ने विश्वप्रकाश शर्माको घोषणा

आगामी चुनावमा उम्मेदवार नबन्ने विश्वप्रकाश शर्माको घोषणा

नेपालखबर
पुस १०, २०८२ बिहिबार १८:१०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। 

बिहीबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले उम्मेदवार नबन्ने बताएका हुन्। ‘लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु,’ कांग्रेस बैठकमा बोल्दै शर्माले भने, ‘गत चुनावमा म आफ्नो क्षेत्रमा सिमित थिएँ, यो पटक देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरुको साथमा पुग्नेछु।’

उम्मेदवार नबन्ने विषयमा आफ्नो क्षेत्रका नेता तथा कार्यकर्तालाई जानकारी गराइसकेको शर्माको भनाइ थियो। ‘हिजो पुस ९ गते झापा थिएँ। को उम्मेदवार बन्ने हो दाबी गरेर अगाडि आउनुस् भनेर आफ्नो क्षेत्रका साथीहरूलाई क्षेत्रीय भेलामैं भनेको छु,’ शर्माले थपे, ‘एक वर्षअघि २०८१ पुस २१ गते मेचिनगर झापाको धुलाबारी स्थित अतिथि सदनको कार्यक्रममा बोल्दै आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक साथीहरू अहिल्यैदेखि गाउँमा मेहनत गर्नोस्, म २०८४ मा उम्मेदवार बन्न इच्छुक छैन भनेर घोषणा गरेको थिएँ। तर पनि फेरि पनि सर्वसम्मत सिफारिश गरेकोमा झापा १ का आदरणीय साथीहरूलाई धन्यवाद दिएको छु।’

आगामी चुनावमा उम्मेदवार परिवर्तन गरेर जानुपर्नेमा पनि उनले जोड दिए। ‘आफ्नो पावरले भ्याएसम्म उम्मेदवार बन्ने। जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने। एक क्षेत्रमा हारे अर्को क्षेत्रमा वा एउटा तहमा हारे अर्कोमा भए पनि उम्मेदवार बन्नैपर्ने। बाँचुन्जेल, क्षेत्र कब्जाको सोच राख्ने। सासले भ्याएसम्म मन्त्री रहिरहनु पर्ने। हाम्रो राजनीतिको यो प्रवृत्ति भत्काउन जरुरी छ,’ शर्मा भने।

उनले युवा र नयाँ अनुहारलाई उम्मेदवार बनाउनुपर्ने बताए। शर्माले भने, ‘मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ, बढिभन्दा बढी युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad