राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र ३ ठूला दलका शीर्षनेताबीच मंगलबार शीतल निवासमा भएको छलफलमा दुई धार देखिएका छन्।
छलफलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पमल दाहाल प्रचण्ड फागुन २१ गते नै चुनाव हुनु पर्ने अडानमा प्रस्तुत भए। तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भने चुनावको वातावरण नभएको भन्दै संसद् पुनर्स्थापनाको पक्षमा उभिए।
आउँदो फागुन २१ गते तोकिएको चुनावका लागि वातावरण बनाउने प्रयास अन्तर्गत राष्ट्रपति पौडेलले प्रधानमन्त्री र ठूला दलहरूबीच समझदारी बनाउन छलफल गरेका थिए। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कार्कीको नेतृत्वमा चुनावी सरकार बनेयता पहिलो पटक शीर्षनेताबीच छलफल भएको हो।
छलफलमा एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी चुनाव विरोधी नभएको तर त्यसका लागि वातावरण नबनेको भनाइ राखेका थिए। ओलीले छलफलमा सिधै संसद् पुनर्स्थापनाको कुरा नउठाए पनि चुनाव हुने अवस्था नभएकाले पुनर्स्थापनातिर जानु पर्ने संकेत गरेका थिए।
‘हामी चुनाव विरोधी होइनौँ, चुनावमा जान तयार छौँ तर अहिले देशभर घुम्ने अवस्था नै छैन,’ ओलीको भनाइ उधृत गर्दै एमालेका एक नेताले भने। ओलीले आफूलाई स्थान हद लगाएर काठमाडौँ बाहिर जानबाट समेत रोकिएको अवस्थामा कसरी चुनावी वातावरण बन्न सक्छ भनेर प्रश्न गरेका थिए।
कांग्रेस सभापति देउवाले पनि चुनावी वातावरण नबनेको कुरा छलफलमा राखेका थिए। तोकिएको मितिमा चुनाव हुन नसक्दा संसद् पुनर्स्थापनाको विकल्पमा जानु पर्ने देउवाको संकेत थियो।
नेकपाका संयोजक प्रचण्ड भने छलफलमा प्रष्ट रुपमा चुनावको पक्षमा उभिए। प्रचण्डले निरनतर चुनावको पक्षमा बोल्दै आएका छन्।
‘हामी सुरुदेखि नै चुनावकै पक्षमा उभिँदै आएका छौँ, सबै मिलेर वातावरण बनाउँ र चुनावमै जाउँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनी निकट एक नेताले भने, ‘सुरक्षाको व्यवस्था सरकारले मिलाउनुपर्छ, मिलाउँछ।’
पहिलो पटक शीर्षनेतालाई एकै थलोमा भेटेकी प्रधानमन्त्री कार्कीले उनीहरूलाई सुरक्षाप्रति आस्वस्त पार्न खोज्दै चुनावको तयारी गर्न जोड गरिन्।
‘चुनावी वातावरण सरकारले बनाउँछ। सुरक्षाको व्यवस्था हुन्छ,’ कार्कीको भनाइ थियो, ‘देशव्यापी रुपमा सुरक्षाकर्मी परिचालित हुन्छन्, सुरक्षाको चिन्ता गर्नु पर्दैन।’
छलफलमा राष्ट्रपति पौडेलले ‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको’ स्मरण गराउँदै ‘निर्वाचन सफल बनाउन सबै पक्ष लाग्नु पर्ने’ बताएका थिए।
शीतल निवासमा मंगलबार भएको छलफललाई प्रधानमन्त्री कार्की र ठूला पार्टीका शीर्षनेताबीच ‘आइस ब्रेक’का रुपमा लिइएको छ। वातावरण छैन भन्दै ठूला दुई पार्टीका नेताले चुनावमा जाने अवस्था नरहेको बताइरहँदा राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डले भने चुनाव हुनै पर्ने अडान राखेका छन्।
प्रधानमन्त्री कार्कीले यो छलफलले निरन्तरता पाउनु पर्ने भन्दै अर्को बैठक आफूले बालुवाटारमै राख्ने बताएकी छन्।
Shares

प्रतिक्रिया