राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता असिम शाहले आफ्ना सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'बीच सोमबार राति ६ घण्टाभन्दा बढी समय भएको भेटवार्ता ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई पनि जोड्दै जाने शृंखलाको सुरुवात भएको बताएका छन्।
असिमकै संयोजनमा पूर्वगृहमन्त्रीसमेत रहेका रवि र मेयर बालेनबीच मध्यरातसम्म उनकै म्युजिक कम्पनी जी-२१ को कार्यालयमा लामो समय छलफल भएको थियो।
त्यसपछि पत्रकारहरूले राखेको जिज्ञासामा असिमले नेपालको राजनीतिमा सुखद सुरुवात भएको दाबी गर्दै अब यस अभियानमा कुलमानहरू पनि जोडिँदै जाने बताएका हुन्।
यसमा कुलमानहरू पनि जोडिँदै जाने हो?
सञ्चारकर्मीको जिज्ञासामा असिमले भनेका छन्, देशलाई आवश्यकता परेका मान्छेहरू एक ठाउँमा आएर अगाडि बढ्ने नै कुरा हो। त्यसैको एउटा शृंखला हो आज। र, एकदमै सुखद अन्त्य भएको छ आजको दिनको। अब आउने दिनहरूमा अझ सुखद कुराहरू नै हुन्छन्। उहाँहरूबीच एकदमै आत्मीयतापूर्वक भेटघाट भएको छ, यसलाई निरन्तरता दिने र मिलेरै अघि बढ्ने भन्ने नै कुरा हो।
रवि र बालेन एक ठाउँमा आउनुपर्छ भनेर देशको माग नै हो, यो त्यसैको सुखद सुरुवात हो।
उनले रवि र बालेनबीचको भेटवार्तामा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको भन्ने हल्लाचाहिँ अस्वीकार गरे।
‘त्यस्तो कुरा खासै केही पनि भएको होइन, सौहार्दपूर्ण रूपमा राम्रो इन्भाएरमेन्टमा देश बनाउनुपर्छ, मिलेर जानुपर्छ भन्ने कुरा भएको हो। र, सन्देश के हो भने दुईजना मिलेर जाने हो। अब अगाडि बढ्ने हो, देशलाई प्राथमिकतामा राख्ने हो, रवि बालेन मिलेर अब देश बनाउनुपर्छ भन्ने हो’, उनले भने।
लामो वार्ता भयो नि असिमजी, अलिकति भन्दिनुस् न।
जवाफमा असिम भन्छन्, ‘एउटा दाजुको, एउटा भाइको एउटा सामान्य गफगाफ एकअर्काका पीडा एकअर्काका दुःख, एकअर्काका भावना, एकअर्काका कुराकानी, सबै कुरा भएको हो? यो लेभबलमा यसरी दुई जना कहिले बस्न पाएका पनि थिएनन् यसभन्दा अघि किनभने बालेन दाइ आफ्नै मेयरको जिम्मेवारीमा व्यस्त हुनुभयो भने रवि दाइ कारागारमा रहनुभयो। यसरी भेट्ने अवसर जुरेको थिएन, त्यसैले भेटघाट हुँदा लामो भएको मात्र हो।’
रवि-बालेन भेटवार्तापछि निवर्तमान सांसदसमेत रहेका रास्वपा नेता शाहले सोमबार राति १ः४२ बजे फेसबुकमा पनि लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन-दुई दाजुभाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।’
यो पनि : थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि
Shares

प्रतिक्रिया