समाज


तापक्रम माइनस २० डिग्रीसम्म पुग्ने माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाकै भर

तापक्रम माइनस २० डिग्रीसम्म पुग्ने माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाकै भर

नेपालखबर
पुस ८, २०८२ मंगलबार ८:३०, मुस्ताङ

माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ।

माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन्। केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा बसेका छन्।

हिउँदयाममा माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेंसी झरिसकेपछि यतिबेला लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ग्रामीण बस्ती सुनसान बनेका छन्। हिउँदयामको मौसममा बेंसी नझरी गाउँमै बसेका स्थानीय नागरिकलाई चिसो थेग्न मुश्किल परेको छ।

विद्युत् र सञ्चार सेवा अनियमित हुनु, चिसोका कारण घरका धारा, सेफ्टी ट्याङ्की चिसो भइ बरफ बनेर जम्न थालेपछि स्थानीयको दैनिकीमा प्रतिकूल असर पुर्‍याएको छ। चिसोका कारण गाउँमा बसेका स्थानीयको स्वास्थ्यमा असर पुर्‍याउनसक्ने जोखिम छ।

माथिल्लो मुस्ताङका नागरिकले हिउँदयामको जाडो थेग्न गुइँठाको साहारा लिन थालेका छन् । सुक्खा पठार माथिल्लो मुस्ताङमा वनजङ्गल नहुँदा दाउराको समस्या छ। बर्खायाममा विद्युत् र ग्यासको प्रयोग हुने भए पनि त्यहाँका नागरिकले पशुचौपायाको गोबरलाई गुइँठा बनाएर ऊर्जाका रुपमा प्रयोग गर्दै जाडो कटाउने गर्छन्।

लोमान्थाङ–३ ठिङ्गरका पासाङ गुरुङले माथिल्लो मुस्ताङमा बर्सेनि एक बालीमात्रै खेतीपाती हुने भएको पशुचौपायाको गोबरलाई गुइठा बनाएर ऊर्जाका रुपमा प्रयोग गर्ने प्रचलन रहेको जानकारी दिए । यहाँका खेतबारीमा चाहिने पशुचौपायाको गोबर मल बढी हुने भएकाले घाममा सुकाएर गुइँठा बनाएर आगो ताप्ने, पानी तताउने र खानेकुरा पकाएर खान प्रयोग गर्ने गरिएको जानकारी दिए।

माथिल्लो मुस्ताङमा ठूलो सङ्ख्यामा स्थानीय नागरिकले याकचौँरी र भेडाच्याङ्ग्रापालन व्यवसाय गर्ने गरेका छन्। यिनै याकचौँरी र भेडाच्याङ्ग्राको गोबरलाई स्थानीयले लगातार घाममा सुकाएर गुइँठा तयार गर्ने गर्छन्। यद्यपि यो प्रचलन माथिल्लो मुस्ताङमा सदियौँदेखि निरन्तर चल्दै आइरहेको छ।

माथिल्लो मुस्ताङमा याकचौँरीको गोबर र भेडाच्याङ्ग्राको जुतोलाई  लगातार घाममा सुकाएर गुइँठा तयार गरेपछि बोराभित्र भण्डारण गरी राखिन्छ । यसरी राखिएको गुइँठालाई आवश्यकताअनुसार ऊर्जाका रुपमा प्रयोग गर्ने गरिएको लोमान्थाङ–२ किम्लिङका ढिन्डुक गुरुङले उल्लेख गरे।

यहाँका पशुचौपायाको गोबरबाट तयार गरिएको गुइँठा दाउराभन्दा राम्रो खपत हुने भएकाले जाडो महिनामा आगो ताप्न र खानेकुरा पकाएर खान इन्धनका रुपमा प्रयोग गर्न सहज भएको गुरुङको भनाइ छ।

खेतबारी र चरन क्षेत्रमा खेर गइरहेका पशुचौपायाको आलो गोबर सङ्कलन गरी स्थानीयले गुइँठा बनाउँछन्। यसरी यहाँ गुइँठालाई ऊर्जाका रुपमा प्रयोग गर्न थालिएपछि दाउराको विकल्पमा गुइँठा भरपर्दो माध्यम बनेको हो । माथिल्लो मुस्ताङमा गुइँठाको प्रयोगले विद्युत् र ग्यासको खपत कम गरी आर्थिक बचतमा  योगदान पुर्‍याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad