राजनीति


थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि

शिशिर खनाल भन्छन् : हप्ता दिनमा केही न केही घटनाक्रम विकास हुन्छ
थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि

सागर न्यौपाने
पुस ४, २०८२ शुक्रबार २१:४८, काठमाडौँ

धरौटी रकम बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भइसकेका छन्। पार्टी सभापतिको जिम्मेवारीमा फर्किएसँगै अब उनले कुलमान घिसिङको अगुवाइमा खुलेको उज्यालो नेपाल पार्टीसँग सहकार्यको प्रयास फेरि अगाडि बढाउने नेताहरूले बताएका छन्।

पुराना दललाई धक्का दिने हो भने नयाँहरू मिल्नैपर्ने  लामिछानेको विश्लेषण छ। त्यही भएर नख्खु कारागारमा रहँदा पनि घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उनको टिमसँग संवाद गर्न उनले कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्ले र शिशिर खनाल लगायत नेतालाई जिम्मा दिएका थिए।
 
असोजदेखि मंसिरसम्म यी उनीहरूबीच पटकपटक छलफल चले पनि पदमा कुरा मिल्न सकेको थिएन। नेताहरूका अनुसार घिसिङले सुरुमा रास्वपा सभापति मागेका थिए। यो प्रस्ताव बालेनका निकट सहयोगी कुमार बेनले नख्खु पुगेर लामिछानेलाई सुनाएका थिए। तर, त्यसलाई लामिछानेले अस्वीकार गरे।

रवि लामिछाने थुनामा रहेकोले  रास्वपा कार्यवाहक सभापति दिनुपर्ने अर्को प्रस्ताव घिसिङ पक्षले राख्यो। त्यसबाहेक ४० प्रतिशत केन्द्रीय सदस्य आफूहरूले पाउनुपर्ने घिसिङ पक्षको माग थियो।

यसमा पनि रास्वपाको वार्ता टोली तयार भएन। त्यसपछि उज्यालो नेपाल पार्टीका नेताहरू बिच्किए र उनीहरूले एकताको प्रक्रिया रोके। 

रास्वपासँग मिलेर जाने सम्भावना नदेखेपछि घिसिङ र उज्यालो नेपाल पार्टीले देशव्यापी अभियान थालेको छ। यद्यपि, लामिछाने थुनामा भएकैले मिलेर जाने योजना सफल नभएको उनीहरूको भनाइ छ। 

उच्च अदालतको आदेशमा लामिछाने शुक्रबार थुनामुक्त भएका छन्।

अब उनेपासँग मिल्ने विषयलाई फेरि अगाडि बढाउने र लामिछानेले नै त्यसको अगुवाइ गर्ने रास्वपाका सचिवालय सदस्य विराजभक्त श्रेष्ठले बताए। रोकिएको संवाद अब नयाँ शिराबाट अघि बढ्ने उनको भनाइ छ। 

‘यसका लागि सभापति बाहिर आएपछि हामीलाई सहज भयो। अब कुलमान र बालेन्द्रसँग भेटघाट गर्न पनि सहज भयो,’ उनले भने, ‘अहिले भएको प्रगतिमा आधारित भएर सभापतिलाई ब्रिफिङ भएपछि यो प्रक्रियालाई उहाँले नै अगाडि बढाउनुहुन्छ।’  

रूपन्देहीबाट शुक्रबार थुनामुक्त भएर लामिछाने चितवन पुगिसकेका छन्। उनी आइतबार काठमाडौँ आउनेछन्। त्यसपछि उनले केही जेनजीसँग भेट्नेछन्। अनि, कुलमान र बालेन्द्र मिलाउन लाग्ने रास्वपाका नेता शिशिर खनालले बताए। लामिछाने नभएकैले कतिपय निर्णय गर्न नसकिएको उनको भनाइ छ। 

‘कतिपय विषय टप लिडरहरू नै बसेर संवाद गरी टुंगो लगाउनुपर्ने छन्, महत्त्वपूर्ण पदको सेयरिङको विषय छन्। हाम्रो सभापति थुनामा रहँदा भेटघाट गर्ने परिस्थिति कम भयो,’ उनले भने, ‘उहाँ बाहिर आएपछि अब सकारात्मक बाटोमा जाने देखिन्छ।’

घिसिङ र बालेन्द्र शाहसँग केही दिनमै कुरा मिल्ने सम्भावना देखिएको खनालको भनाइ छ।

‘किनभने हामीले सैद्धान्तिक रूपमा यो बाटो जानु हुँदैन, ठीक हुँदैन भन्ने लाइन कहिले पनि लिएका थिएनौँ,’ उनले थपे, ‘सभापतिसँग बसेर कुरा गर्दा हप्ता दिनसम्म केही न केही घटनाक्रम विकास भएको सुन्न पाउनुहुनेछ।’

उनेपाका नेता एवं कुलमानका विश्वासपात्र गणेश घिसिङले पनि रास्वपा र नयाँ दलहरूसँग चलिरहेको छलफल अब निर्णायक मोडतिर जानसक्ने बताए।

‘रविजीसँग जेलमै हुँदा पनि विभिन्न माध्यममार्फत् कुरा भएकै हो,’ उनले भने, ‘उहाँ बाहिर आएपछि सिधै छलफल हुन्छ। मुलुकको चाहना त्यही हो। जनताको चाहनाअनुसार चल्नुपर्ने हुन्छ।’

लामिछाने थुनामा रहेकोले कुलमान घिसिङलाई सभापति वा कार्यवाहक बनाएर जान बालेन्द्र शाहले सन्देश पठाएका पनि हुन्। तर, त्यसलाई रविले पार्टी कब्जा गर्न खोजेको अर्थमा लिए। बरु सरकारमा रहेका कुलमान आफूलाई रिहा गराउन लाग्नुपर्ने उनको तर्क थियो। 

‘एकता प्रक्रिया बाँकी नै छ। अब नयाँ र चर्चित सबैलाई एक ठाउँमा ल्याएर नेतृत्व गर्ने भन्ने उहाँको कुरा छ,’ रास्वपाका एक नेताले भने, ‘थुनामुक्त भएर उहाँ जिम्मेवारीमा फर्किएपछि निर्णय गर्न सहज भयो।’

तर, रास्वपाले घिसिङको हैसियत पनि नियालिरहेको नेताहरू बताउँछन्।

‘सबै सुम्पिएर जान सकिँदैन भन्ने उहाँको निष्कर्ष हो,’ ती नेताले भने।  

लामिछानेका विश्वासपात्र ती नेताका अनुसार पार्टी एकता नभए पनि चुनावी तालमेल हुनसक्छ। 

‘नयाँ ढंगले कुरा अघि बढ्न सक्छ। तर, कल्पना गरेजस्तो सहज छ जस्तो लाग्दैन। मिल्छ–मिल्दैन पनि यसै भन्न सकिँदैन,’ उनले भने।

उनेपाका नेता जीतराम वाइबा पनि लामिछानेसँग अब कुलमान घिसिङको सिधै कुरा हुने बताउँछन्।

‘जसरी बालेन्द्रसँग सिधै संवाद भइरहेको छ, रविसँग तेस्रो पक्ष राखेर कुरा गर्नुपरेन। उहाँसँग सिधै कुरा हुन्छ,’ वाइबाले भने।

निकै जोडबल गर्दा पनि एकपटक कुरा नमिलेकोले अब फेरि त्यसमै नअल्झने उनी बताउँछन्। 

‘हाम्रो ध्यान अहिले पार्टी बनाउन छ, १६५ क्षेत्रमै उम्मेदवार छान्ने र सबै निर्वाचन क्षेत्रमा पार्टी कमिटी बनाउने भनेर लागेका छौँ, हाम्रो प्राथमिकता दल बनाउनमै छ। आफ्नो हिसाबले अगाडि बढिसकेका छौँ,’ उनले थपे। 

रास्वपासँग पूरै नभए पनि निश्चित क्षेत्रमा चुनावी तालमेल हुनसक्ने उनको भनाइ छ।  

रास्वपाका सचिवालय सदस्य विराजभक्त श्रेष्ठ पनि चुनावी तयारी तीव्र पारिएको बताउँछन्।

‘हामीले विवेकशील पार्टी र अन्य केहीसँग एकता गरिसकेका छौँ, समानुपातिक उम्मेदवार छान्दै छौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad