राजनीति


चुनावमा सेना परिचालनबारे प्रश्न गर्दै राजेन्द्र पाण्डेले भने- बुथबाट २ सय मिटर पर बस्या हुन्छ, केही गर्दैन

चुनावमा सेना परिचालनबारे प्रश्न गर्दै राजेन्द्र पाण्डेले भने- बुथबाट २ सय मिटर पर बस्या हुन्छ, केही गर्दैन

नेपालखबर
पुस ७, २०८२ सोमबार १९:१९, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले सेना परिचालन गरेर मात्रै निर्वाचन निष्पक्ष र भयरहिन नहुने बताएका छन्। 

सोमबार प्रधानमन्त्री, गृहमन्त्री, प्रधानसेनापति, कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसहित दलहरूसँगको छलफलमा नेता पाण्डेले आफूले १० वटा चुनाव लडिसकेको बताउँदै सेना परिचालन गरेर मात्रै चुनाव भयरहिन नहुने बताएका हुन्। छलफलमा चुनावलाई भयरहिन बनाउन सेना परिचालन गर्न लागिएको जानकारी दिइएको थियो। 

त्यसको जवाफमा नेता पाण्डेले भने, ‘नेपाली सेनाको परिचालन कहिलेदेखि हुन्छ? कसरी हुन्छ? हामी धेरै चुनाव लडेर आएका छौं। मैले नै १० वटा चुनाव लडेको छु। १० वटा चुनाव लड्ना मैले देख्या छैन र सेनाको परिचालन कसरी हुने गरेको छ?’

सेना बुथभन्दा टाढा बसेर हेर्ने मात्रै भएकाले सेना परिचालनले मात्रै शान्ति सुरक्षा नहुने उनको भनाइ थियो। ‘सेना कहाँ बस्छ? शान्ति सुरक्षाको स्थिति उसले कसरी देखाउँछ?,’ पाण्डेले भने, ‘सय मिटर, दुई सय मिटर पर सेना बस्या हुन्छ। त्यो सेना हेरेर यहाँ शान्ति सुरक्षा छ भन्ने स्थिति हुन्छ। वा बुथभित्र मारामार भइसक्यो हुन्छ।’

निर्वाचन हेर्ने सेनाभन्दा पनि प्रहरी भएको उनले सुनाए। ‘टाढा बसेको सेनाको हरियो ड्रेस हेरेर शतर्क रहने मात्रै हो। उसले बन्दुक छोड्दैन, केही गर्दैन। हामीले त भाग्या छौं नि, देख्या छौं नि,’ पाण्डेले थपे, ‘चुनावमा परिचालन हुने प्रहरी नै हो, त्यो प्रहरीलाई कसरी व्यवस्थित गर्छौ भन्ने कुरामा ध्यान दिनुपर्छ।’

चुनाव गराउनका लागि प्रहरीसँगै चुनावी प्रहरीको पनि महत्त्वपूर्ण भूमिका हुने उनले सुनाए। ‘म्यादी प्रहरी लाठी हातमा लिएर बसेको हुन्छ। कसरी छनोट गर्नुहुन्छ? त्यो आफैमा पनि बेइमानी गर्ने मान्छे पनि हुन्छ। कतिपय अवस्थामा एउटाको पक्षमा भोट यताउता गर्ने भनेर निर्देशन दिने मान्छे हुन्छ,’ उनले भने। 

चुनावको वातावरण बनाउनका लाग मन्त्रीहरूले पनि धेरै बोल्न नहुने उनको सुझाव थियो। ‘तपाईंहरूका बोलीले निर्वाचन भाँडिदै छ,’ बैठकमा सहभागी मन्त्रीहरूतर्फ इशारा गर्दै पाण्डेले भने, ‘मन्त्री भन्या बलेनीको ढुंगा जस्तो हो। भित्र आउनेले पनि टेक्छ, बाहिर निस्किनेले पनि टेक्छ, अय्या भन्न पाइन्न। त्यसैले मन्त्रीहरू मुख बन्द गरेर बस्नुस्, नबोल्नुस्।’

राजनीतिक दलको सहभागिताविना चुनाव सम्भव नहुने उनको भनाइ थियो। दलका नेताहरूमाथि लगाएको स्थानहद उपयुक्त नहुने पाण्डेले बताए। दलका नेताहरू काठमाडौँ बाहिर जान पाएनन् भने कसरी चुनावी प्रचार गर्छन् भनेर उनले प्रश्न गरेका थिए। 

जेनजी आन्दोलनमा लुटिएका हतियार र गोलीगठ्ठा पनि चुनावी सुरक्षाका लागि चुनौति भएको उनको भनाइ थियो। अझै ९८ हजार गोली र १२ देखि १४ सय हतियार लुटिएको उल्लेख गर्दै त्यसमध्ये कति फिर्ता भए भन्ने कुराले अर्थ राख्ने उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad