राजनीति


पदभार ग्रहण गर्दै मधेसका सभामुखले भने- म सदनमा निस्पक्ष भूमिका खेल्छु

पदभार ग्रहण गर्दै मधेसका सभामुखले भने- म सदनमा निस्पक्ष भूमिका खेल्छु

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०८२ सोमबार १४:७, काठमाडौँ

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशिष यादवले पदभार ग्रहण गरेका छन्। 

सोमबार जनकपुरधामस्थित प्रदेशसभा कार्यालयमा पदभार ग्रहण गर्दै यादवले आफूले अब कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेशसभाको साझा अभिभावकका रूपमा निष्पक्ष भूमिका निर्वाह गर्ने बताए। 

सभामुख यादवले राजनीतिक दलहरूबीच संवाद र सहकार्यलाई बढावा दिने समेत बताए। ‘मतभेद स्वाभाविक हो। तर, सहकार्य अपरिहार्य छ,’ उनले भने। 

प्रदेशको हितका लागि सबै दलसँग समन्वय गर्दै अघि बढ्ने जानकारी दिँदै उनले मधेसका मुद्दा समावेशिता, सुशासन, शिक्षा र स्वास्थ्यको पहुँच, रोजगारी सिर्जना र सीमावर्ती क्षेत्रका चुनौतीलाई संसदीय कार्यसूचीमा प्राथमिकताका साथ उठाइने बताए। 

प्रदेश सभाले कार्यपालिकामाथि प्रभावकारी निगरानी कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले बजेट कार्यान्वयन, सार्वजनिक खर्चको पारदर्शिता र सेवाप्रवाहको गुणस्तरमा सुधारका विषयमा संसद् सशक्त हुनुपर्नेमा जोड दिए। 

सभामुख यादवले प्रदेशसभालाई लोकतान्त्रिक मूल्य–मान्यताअनुसार प्रभावकारी, उत्तरदायी र मर्यादित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘सभामुखको कुर्सी राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि हुन्छ, संविधान, कानून र संसदीय नियमावलीको पूर्ण पालना गराउँदै सभालाई जनउत्तरदायी बनाउने मेरो दायित्व रहनेछ’, उनले भने। 

सभामा अनुशासन, समयपालन र स्वस्थ बहस संस्कृतिलाई संस्थागत गर्न आफू दृढ रहेको उल्लेख गर्दै सांसदहरूलाई रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरे। 

समितिहरूलाई सक्रिय बनाउँदै विधेयकहरूमा गहिरो छलफल, संशोधन र सहमति निर्माणमा सभामुखको भूमिकालाई प्रभावकारी बनाइने उनको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad