राजनीति


योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छ : शिक्षामन्त्री पुन

योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छ : शिक्षामन्त्री पुन

नेपालखबर
पुस ६, २०८२ आइतबार ११:५७, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजभर फैलाउन सकिए भ्रष्टाचार हट्ने सम्भावना रहेको बताएका छन्। 

विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले मन शुद्धीकरण नै भ्रष्टाचार नियन्त्रणको मुख्य आधार भएको बताए।

‘मनलाई शुद्ध गर्नुपर्ने ठूलो आवश्यकता छ, मन शुद्ध भएन भने मनमा लोभ, लालसा र घमण्ड बढ्छ,’ पुनले भने, ‘यही नै भ्रष्टाचार मौलाउने माध्यम बन्छ।’

भ्रष्टाचार औषधिबाट हट्ने समस्या नभएको उल्लेख गर्दै उनले योग र ध्यान नै यसको प्रभावकारी उपाय हुनसक्ने धारणा राखे। ‘भ्रष्टाचार हटाउन औषधि छैन, बनेको पनि छैन। तर योग र ध्यानले मन शुद्ध बनाउँछ, त्यसैले यसलाई समाजभर फैलाउन सकिए भ्रष्टाचार हट्ने ठूलो सम्भावना देखेको छु,’उनले भने।

योग र ध्यानलाई गाउँ-गाउँ तथा टोल-टोलमा पुर्‍याउन सबैले पहल गर्नुपर्नेमा जोड दिँदै मन्त्री पुनले विद्यालयस्तरमै यसको अभ्यास गराउने तयारी भइरहेको बताए।

‘योग विषय पढाउने होइन, गराउने कुरा हो । त्यसैले विद्यालयमा अतिरिक्त क्रियाकलापका रूपमा योग र ध्यान समावेश गर्न निर्देशन दिइसकेको छु,’ उनले स्पष्ट पारे।

उनले विद्यालयमा शुक्रबारको दिनलाई पठनपाठनभन्दा अतिरिक्त क्रियाकलापका लागि प्रयोग गर्ने प्रस्तावसमेत अघि सारेको बताए।

मन्त्री पुनका अनुसार योग र ध्यानले मनलाई शान्त र शुद्ध बनाउने भएकाले यसले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad