राजनीति


महाधिवेशन सकिएको २ दिनपछि विद्या भण्डारीले केपी ओलीलाई यसरी दिइन् बधाई

महाधिवेशन सकिएको २ दिनपछि विद्या भण्डारीले केपी ओलीलाई यसरी दिइन् बधाई

नेपालखबर
पुस ५, २०८२ शनिबार १३:३, काठमाडौँ

पूर्वराष्ट्रपतिसमेत रहेकी नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले लगातार तेस्रोपटक नेकपा एमालेको अध्यक्ष बन्न सफल केपी शर्मा ओलीलाई एघारौँ महाधिवेशन सकिएको २ दिनपछि बधाई दिएकी छन्।

गत बिहीबार (पुस ३ गते) नै एमाले अध्यक्षमा विजयी ओलीसहित नयाँ नेतृत्वलाई भण्डारीले आज पुस ५ गते सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएकी हुन्। 

उनले लेखेकी छन्, ‘तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित हुनुभएका केपी शर्मा ओलीज्यूसहित नवनिर्वाचित अन्य पदाधिकारीहरू, केन्द्रीय कमिटीका सदस्यहरू तथा विभिन्न आयोगका सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।’

यस क्रममा उनले लोकतान्त्रिक प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन गर्नु एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज) को जीवन्त अभ्यास भएको उल्लेख गरेकी छन्। 

उनले अगाडि लेखेकी छन्, ‘यस महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु।’

यस्तो छ भण्डारीको पूरा बधाई सन्देश:

‘यस महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज) को जीवन्त अभ्यास हो।

तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित हुनुभएका केपी शर्मा ओलीज्यूसहित नवनिर्वाचित अन्य पदाधिकारीहरू, केन्द्रीय कमिटीका सदस्यहरू तथा विभिन्न आयोगका सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।

साथै महाधिवेशनमा सहभागी सम्पूर्ण प्रतिनिधिहरू, पर्यवेक्षकहरू तथा महाधिवेशन सफल बनाउन अहोरात्र खटिनुभएका स्वयंसेवकहरू, स्वास्थ्यकर्मीहरू र कलाकारहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

यस महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी हुनुभएका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति पनि हार्दिक धन्यवाद। लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया हो, जसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउँछ।

यस महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु।’

अध्यक्ष ओलीले नै पार्टी सदस्यता रोकिदिँदा पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीति गर्ने सपना चकनाचुर भएको थियो। त्यसपछि उनी पक्षधरको समर्थनमा ईश्वर पोखरेल अध्यक्षमा उठेका थिए तर ओलीसँग भारी मतान्तरले हारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad