नेकपा एमालेको केन्द्रीय सदस्य पदमा पराजित नविना लामाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारीका बेला आफ्नो प्यानलमा नपार्दा हार भएको गुनासो गरेकी छन्।
उम्मेदवारी सूची बनाउने अन्तिम क्षणसम्म प्रयास गर्दा पनि ओली टिममा नपर्नु नै अत्यन्त पीडादायी यथार्थ बनेको दुखेसो उनले गरेकी छन्।
लामो समयदेखि अध्यक्ष ओलीको नजिक रहेर पार्टीमा काम गरेको भए तापनि पूर्वराष्ट्रपतिसमेत रहेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यताका पक्षमा मत राखेकै कारण आफू बहिष्करणमा परेको आशंका पनि लामाले गरेकी छन्।
‘अध्यक्ष कमरेड केपी शर्मा ओलीको समूहमा अन्तिम क्षणसम्म इमानदार प्रयास गरियो, तर टिममा समेटिन सकिनँ। टिम निर्माणको घडीमा त्यो टिममा मेरो नाम नरहनु मेरो मनका लागि अत्यन्त पीडादायी यथार्थ बन्यो’, उनले फेसबुकमा लेखेकी छन्, यसको कारण पार्टी पुनर्गठनसम्बन्धी र क. विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयमा बैठकमा व्यक्त गरिएको मेरो धारणा पनि रहेको बुझाइमा छु। तर बोलेकोहरू टिममा परेको छ। मैले अभ्यास गर्न पुगेन कि?’
ओली टिममा नपारिएकै कारण पार्टीको आन्तरिक निर्वाचनमा पहिलोपटक हार खानुपरेको जिकिर गर्दै उनले यसले फेरि टुहुरो भएको अनुभूति बल्झिएको बिलौना गरेकी छन्।
‘मैले महिला खुलातर्फ उम्मेदवारी दिएँ। १५७९ मत प्राप्त गर्दै केवल २० मतको झिनो अन्तरले पराजित भई ५३औँ स्थानमा सीमित हुन पुगेँ। पार्टीको आन्तरिक निर्वाचनमा अहिलेसम्म कहिल्यै नहारेको मेरो राजनीतिक यात्रामा यो पहिलो हार थियो, जसले मनलाई गहिरो चोट दियो’, नविनाले लेखेकी छन्, ‘बुबा बितेको चार महिना पुग्दै गर्दा मनभित्रको टुहुरोपन बोकेर ११औँ महाधिवेशनमा सहभागी भएँ। आज फेरि पनि त्यही गहिरो टुहुरो भएको अनुभूति मनमा बल्झिरहेको छ।’
यस्तो छ नविना लामाको पूरा फेसबुक स्टाटस:
फेरि पनि श्रद्धेय अध्यक्षज्यू, सम्पूर्ण पदाधिकारीज्यूहरू तथा सिंगो केन्द्रीय कमिटीलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
बुबा बितेको चार महिना पुग्दै गर्दा मनभित्रको टुहुरोपन बोकेर ११औँ महाधिवेशनमा सहभागी भएँ। आज फेरि पनि त्यही गहिरो टुहुरो भएको अनुभूति मनमा बल्झिरहेको छ।
अध्यक्ष कमरेड केपी शर्मा ओलीको समूहमा अन्तिम क्षणसम्म इमानदार प्रयास गरियो, तर टिममा समेटिन सकिनँ। अध्यक्ष कमरेडप्रति मेरो गहिरो विश्वास थियो, किनकि कक्षा ६ देखि एमाले अखिलको राजनीतिमा होमिँदै काभ्रे जिल्ला कमिटी, अखिल केन्द्रीय सदस्य, सचिवालय सदस्य, स्ववियु सचिव, सभापति हुँदै अखिलको उपाध्यक्ष, महासचिव र अध्यक्षसम्मका जिम्मेवारीहरू वहन गरेँ। पार्टी केन्द्रीय सदस्य र समानुपातिक सांसदको भूमिका पनि निर्वाह गर्ने अवसर पाएँ। यो सम्पूर्ण राजनीतिक यात्रा कमरेडहरूकै नेतृत्व र टिमसँग जोडिएको थियो।
तर टिम निर्माणको घडीमा त्यो टिममा मेरो नाम नरहनु मेरो मनका लागि अत्यन्त पीडादायी यथार्थ बन्यो। यसको कारण पार्टी पुनर्गठनसम्बन्धी र क. विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयमा बैठकमा व्यक्त गरिएको मेरो धारणा पनि रहेको बुझाइमा छु। तर बोलेकोहरू टिममा परेको छ। मैले अभ्यास गर्न पुगेन कि???
मैले महिला खुलातर्फ उम्मेदवारी दिएँ। १५७९ मत प्राप्त गर्दै केवल २० मतको झिनो अन्तरले पराजित भई ५३औँ स्थानमा सीमित हुन पुगेँ। पार्टीको आन्तरिक निर्वाचनमा अहिलेसम्म कहिल्यै नहारेको मेरो राजनीतिक यात्रामा यो पहिलो हार थियो, जसले मनलाई गहिरो चोट दियो। मत माग्ने क्रममा स्वास्थ्यले साथ नदिई ज्वरोका कारण विश्राम गर्नुपर्ने अवस्था आउनुले त्यो समय झनै कठिन बन्यो।
यो महाधिवेशनमा धेरै राम्राहरू हारे भने धेरै आए पनि!! यति कठिन घडीमा पनि माया, विश्वास र साहस दिएर मत दिनुहुने सबैप्रति मेरो हृदय कृतज्ञताले भरिएको छ। मेरो लागि सडकसडकमा मत माग्दै पर्चा बाँडेर हिँड्नुहुने मेरा श्रीमान्, अखिलका दाजुबहिनीहरू, काभ्रे जिल्लादेखि देशभरिका ती प्रिय कमरेडहरू सबैप्रति मुटुदेखि नमन र हार्दिक धन्यवाद व्यक्त गर्दछु।
तपाईंहरूको साथ, माया र विश्वासले मेरो खालीपनलाई फेरि आशा, आत्मबल र निरन्तर संघर्ष गर्ने हिम्मतमा रूपान्तरण गरिदिएको छ।
संघर्ष जारी छ। यात्राको अध्याय अझ बाँकी छ।
Shares

प्रतिक्रिया