राजनीति


मधेसका मुख्यमन्त्री यादवलाई एमालेले पनि दियो विश्वासको मत

मधेसका मुख्यमन्त्री यादवलाई एमालेले पनि दियो विश्वासको मत

मुख्यमन्त्री कृष्णप्रसाद यादव र पूर्वमुख्यमन्त्री सरोज यादव


नेपालखबर
पुस ४, २०८२ शुक्रबार २०:४२, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। यादवलाई सत्ताच्युत नेकपा (एमाले) सहित सबै राजनीतिक दलले विश्वासको मत दिएका हुन्।

आज बसेको प्रदेशसभा बैठकमा उनले सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदको विश्वासको मत पाए।

गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए।

उनलाई गठबन्धनका घटक कांग्रेससहित जसपा नेपाल, जनमत नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले यादवलाई विश्वासको मत दिए।

यस्तै, एमाले र सत्ता बाहिर रहेका एक–एक सिटको राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टी समेतले विश्वासको मत दिए।

उपसभामुखको आसनमा बसेर सभा सञ्चालन गरेकी उपसभामुख बबिता राउत इशरले यादवले विश्वासको मत पाएको घोषणा गरिन्।

१०७ सदस्य मधेश प्रदेशसभामा सरकारको विश्वासको मतको लागि ५४ मत आवश्यक पर्छ। प्रदेश सभामा हाल नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ सांसद छन्। यस्तै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक–एक सिट रहेको छ।

गएको कात्तिक २४ गते ठूलो दलको हैसियतमा रातारात मधेसको मुख्यमन्त्री नियुक्त भएका एमालेका सरोज यादवको पद २४ दिनमै गएपछि एमाले मधेसमा प्रतिपक्ष कित्तामा पुगेको छ। यो प्रकरणमा एमालेले मधेसमा मुख्यमन्त्रीसँगै प्रदेश प्रमुख र सभामुख पनि गुमाएको छ। मधेसमा सबै दलले एमालेको साथ छाडेका छन्।

मुख्यमन्त्री यादवसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र सभामुख रामचन्द्र मण्डल पनि यो प्रकरणमा पदमुक्त भएका छन्।  

यादवको विवादास्पद नियुक्तिपछि प्रदेश प्रमुख सुवेदीलाई सरकारले कात्तिक २४ गते नै पदमुक्त गरेर मधेसमा सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुख बनाएको छ।

यो प्रकरणमा एमालेलाई सहज हुनेगरि प्रदेश सभा बैठक सञ्चालनको आरोप लागेका सभामुख रामचन्द्र मण्डल पनि मंसिर ३ गते विपक्षी दलको महाअभियोगबाट पदमुक्त भइसकेका थिए। 

मधेसको सबैभन्दा ठूलो दल एमालेसँग २४ सांसद छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad