नेकपा (एमाले)का नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले अब संवैधानिक र लोकतान्त्रिक प्रक्रिया पुनर्स्थापनामा लाग्नुपर्ने बताएका छन्।
उपमहासचिव भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित सबैलाई बधाई दिएका छन्। उनले भनेका छन्, ‘महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित कमरेड केपी शर्मा ओली, सम्पूर्ण पदाधिकारी तथा सदस्य कमरेडहरूमा हार्दिक बधाई तथा शुभकामना!’
यससँगै उनले एघारौँ महाधिवेशनको समीक्षा गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘नेकपा (एमाले) को ११औँ महाधिवेशन सम्पन्न भएको छ। यसको आन्तरिक तयारी, ब्यवस्थापन र संदेशका बारेमा समीक्षा हुने नै छ।’
जेनजी आन्दोलनपछि भएको महाधिवेशनले सकारात्मक सन्देश दिएको उल्लेख गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। ‘भाद्र २३ र २४ को घटना पछिको प्रतिकूल परिवेशमा सम्पन्न यो महाधिवेशनको राजनीतिक सन्देश भने सकारात्मक रहेको छ,’ भट्टराईले भनेका छन्, ‘अब सिंगो एमाले पंक्तिले संयम र धैर्यताकासाथ अघि बढेर मुलुकको संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियालाई पुनर्स्थापित गर्न अगुवाई गर्नु पर्दछ।’
भरखरै सम्पन्न भएको एघारौँ महाधिवेशनबाट उनी उपमहासचिवमा निर्वाचित भएका हुन्। उनको टोलीबाट अध्यक्षमा लडेका ईश्वर पोखरेल भने ओलीसँग पराजित भएका छन्।
Shares

प्रतिक्रिया