नेकपा (एमाले) को कोशी प्रदेश कमिटीका सल्लाहकार टीकाराम पुरीले पार्टी छाडेका छन्।
लामो समयदेखि एमालेमा सक्रिय रहेका पुरीले व्यावहारिक तथा पारिवारिक कारण देखाउँदै पार्टीका सबै जिम्मेवारीबाट अलग हुने जनाएका छन्। उनले साधारण सदस्यता समेत नरहने गरी राजीनामा बुझाएका छन्।
विराटनगर-५ पुरीले एमाले कोशी प्रदेश कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै दिएको राजीनामा पत्रमा अब उप्रान्त पार्टीको कुनै पनि तहमा संलग्न नहुने बताएका छन्।
२०३३ सालमा तत्कालीन नेकपा (माले)बाट राजनीतिक यात्रा सुरु गरेका उनी २०४७ सालमा नेकपा (एमाले) को सदस्यता लिएका थिए। अहिले उनी एमाले कोशी प्रदेश कमिटीका सल्लाहकारको भूमिकामा थिए।
पुरी विराटनगरस्थित एक निजी विद्यालय सञ्चालकसमेत हुन्। उनी यसअघि निजी तथा आवासीय विद्यालयको संगठन प्याब्सनको केन्द्रीय अध्यक्ष भएका थिए।
Shares

प्रतिक्रिया