मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ।
एमाले बाहेकका सात दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कांग्रेस नेतासमेत रहेका यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।
मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो चारबजे विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सरकारका ऊर्जामन्त्री जबाहरलाल कुशवाहाले जानकारी दिए।
एमालेकी प्रदेश सभा सदस्य शारदा थापाका अनुसार मुख्यमन्त्री यादवलाई आज एमालेले पनि विश्वासको मत दिने तयारी छ।
‘मुख्यमन्त्री यादवलाई हामी पनि आज विश्वासको मत दिनेछौँ,’ सांसद थापाले नेपालखबरसँग भनिन्, ‘हाम्रो संसदीय दलले उहाँलाई विश्वासको मत दिने निर्णय गरेको छ।’
एमालेबाट मुख्यमन्त्री नियुक्त भएका सरोज यादव प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि २४ दिनमै बर्खास्त भएपछि कांग्रेस नेता यादव मधेसको मुख्यमन्त्री नियुक्त भएका हुन्।
मुख्यमन्त्री यादवले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर शुक्रबार विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए।
उनले पठाएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न मिति २०८२ पुस ४ गते शुक्रबारको दिन दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइ दिनुहुन अनुरोध गर्दछु।’
यादव गत मंसिर १९ गते सात दलका ७७ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। एमालेले पनि विश्वासकाे मत दिँदा यादवले १०४ सांसदको समर्थन प्राप्त गर्नेछन्। मधेसको सबैभन्दा ठूलाे दल एमालेसँग यहाँ २४ सांसद छन्। १०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतको लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ।
संविधानअनुसार, दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
मधेस सरकारमा अझै मन्त्रिपरिषद्ले पूर्णता पाउँन बाँकी छ। अहिलेसम्म नेपाली कांग्रेसबाट जङ्गीलाल यादव स्वास्थ्यमन्त्री, जनमतबाट महेश यादव अर्थमन्त्री, माओवादीबाट जबाहरलाल कुशवाहा ऊर्जामन्त्री, एकीकृत समाजवादीबाट गणेश पटेल उद्योगमन्त्री र लोसपाबाट रानीकुमारी तिवारी शिक्षामन्त्री बनेकी छन्।
सात दलीय सत्ता गठबन्धनको दोस्रो ठूलो दल भए पनि जसपाबाट मन्त्री नियुक्त हुन बाँकी छ।
जसपाले महत्वपूर्ण मन्त्रालय र प्रदेश सभाको सभामुख दाबी गर्दै आएको स्रोतको दाबी छ।
एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डल महाअभियोगबाट बर्खास्त भएपछि मधेसमा अहिले सभामुख पद खाली छ।
मधेसमा सभामुखमा जसपा र माओवादी केन्द्रले दाबी गर्दै आएका छन्।
Shares

प्रतिक्रिया