बझाङको वित्थडमा खेल मैदान बनाउँदा साढे १४ लाख रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बझाङको बित्थडचीर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो। मुद्दामा भट्टसँगै तत्कालीन सब-इन्जिनियर गणेशराज उपाध्याय, तत्कालीन लेखापाल हर्कदेव जोशी, बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्रबहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीलाई विपक्षी बनाइएको छ।
उनीहरूले १४ लाख ६६ हजार ५ सय ३ रुपैयाँ ९२ पैसा राज्यलाई हानी नोक्सानी पुर्याएको अख्तियारको अनुसन्धानमा देखिएको छ। उनीहरूबाट त्यहीअनुसारको रकम असुलउपर गर्न बिगो दाबी गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जनाएका छन्।
उनीहरूले आर्थिक वर्ष २०७६/७७ मा संघीय युवा तथा खेलकूद मन्त्रालयबाट ५० लाख र संघीय सांसद विकास कोषबाट १५ लाख लिएको पाइएको छ। दुई वटा निकायबाट छुट्टाछुट्टै रकम लिएको भए पनि एउटै उपभोक्ता समितिलाई दिएको पाइएको अख्तियारले जनाएको छ।
एकै आर्थिक वर्षमा एउटै उपभोक्ता समितिसँग दोहोरो सम्झौता गरेको र उपभोक्ता समितिको खर्चको सार्वजनिक सुनुवाइ नगरेको देखिएको छ। दोहोरो रकम दिएको विषय गुपचुप राखेको अख्यितारले जनाएको छ। यसरी लागत अनुमानभन्दा १४ लाख ६६ हजार ५ सय ३ रुपैयाँ ९२ पैसा बढी खर्च गरेको पाइएकोले मुद्दा दर्ता गरिएको अख्तियारका सहयाक प्रवक्त अधिकारीले जनाएका छन्।
Shares

प्रतिक्रिया