प्रतिनिधि र केन्द्रीय सदस्यमा आफ्नो नाम काटेको भन्दै मधेस र सुदूरपश्चिम प्रदेशका नेताहरू असन्तुष्ट भएको जानकारी पाएपछि अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले लिस्टभन्दा दायाँबायाँ नहुन निर्देशन दिएका छन्।
ती प्रदेशका नेता, कार्यकर्ताले विशेषगरि महासचिव शंकर पोखरेलले केन्द्रीय सदस्य र प्रतिनिधि बनाउँदा आफूूहरुको नाम काटेको भन्दै ‘क्रस भोट’ गर्ने चेतावनी दिएका थिए। त्यो थाहा पाएपछि ओलीले मंगलबार नेतृत्व तहलाई एकताबद्ध रूपमा उम्मेदवार सूचीअनुसार अघि बढ्न निर्देशन दिएका हुन्।
उनको निर्देशनपछि सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले प्रदेशका ९ जिल्लाका अध्यक्षहरूको आकस्मिक बैठक बोलाएका थिए। बैठकमा भट्टले ‘केन्द्रबाट लिस्ट क्रस नगर्न स्पष्ट निर्देशन आएको’ जानकारी गराएको एक नेताले बताए। तर केही जिल्लाका प्रतिनिधिहरूले आफूहरूले चाहेको अनुसार निर्णय गर्ने प्रतिक्रिया दिएका थिए।
‘सुदूूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टलाई अध्यक्षज्यूूले निर्देशन दिएपछि लेखराजजीले हतार-हतार सुदुरका ९ जिल्लाकै अध्यक्षको बैठक राख्नु भएको थियो, ‘भट्टले बैठकमा भनेको कुरा उदृत गर्दै एक नेताले भने, ‘केन्द्रबाट अध्यक्षज्युले लिस्टभन्दा दायाँबायाँ नगर्न भन्नुभएको छ। तपाईंहरुले क्रस नगर्नु होला।’
‘तर केही जिल्लाका साथीहरू जुरुक्क उठेर हामीले चाहे अनुसार गर्छौं भन्नुभयो,’ उनले थपे।
यसैबीच बुधबार मतदान गरेका केही महाधिवेशन प्रतिनिधिहरुले आफूहरुले ‘क्रस भोटिङ’ गरेको नेपालखबरसँग बताएका थिए। पार्टीलाई एकताबद्ध बनाउन प्यानल नहेरेर दुवै तर्फका राम्रा उम्मेदवारलाई मतदान गरेको उनीहरूको भनाइ थियो।
एमाले ११ औँ महाधिवेशनमा ओली र अर्का नेता ईश्वर पोखरेलको नेतृत्वमा दुई अलग-अलग प्यानल छन्। मतदानका लागि लाइनमा उभिएका मतदातालाई ओली पक्षले आफ्नो प्यानलको सूची नै बाँडेको थियो।
Shares

प्रतिक्रिया