अस्ट्रेलियाको सिड्नीस्थित 'बोन्डी बिच'मा १५ जना मारिने गरी भएको गोलीकाण्डका जीवित आरोपित नविद अक्रमलाई प्रहरीले ५९ वटा अभियोग लगाएको छ।
तीमध्ये १५ हत्या र एउटा आतंकवादी कार्य गरेको आरोप रहेको न्यु साउथ वेल्स प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
यही डिसेम्बर १४ अर्थात् गत मंसिर २९ मा बोन्डी बिचमा अन्धाधुन्ध गोली प्रहार गरिँदा १५ जना मारिएका थिए भने ४० जनाभन्दा बढी घाइते भएका थिए।
आक्रमणकारी नविदका बाउ-छोरा भएको दाबीसहित प्रहरीले अनुसन्धान अघि बढाएको हो।
यद्यपि २४ वर्षीय नविदका बाबु ५० वर्षीय साजिक अक्रम भने त्यही बेला प्रहरीको कारबाहीमा मारिइसकेका छन्। छोरा नविद भने गम्भीर घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
आक्रमण अस्ट्रेलियाको यहुदी समुदाय लक्षित थियो। त्यो दिन यहुदी पर्व हनुक्का मनाइरहेको भिडमा गोली हानिएको थियो।
यो घटनालाई सन् १९९६ पछि अस्ट्रेलियामा भएको सबैभन्दा घातक सामूहिक गोलीकाण्ड मानिएको छ।
नविद अक्रमविरुद्ध हत्याको नियतले गम्भीर शारीरिक हानि पुर्याएका ४० वटा अभियोग र प्रतिबन्धित अतिवादी संगठनको प्रतीक सार्वजनिक रूपमा प्रदर्शन गरेको आरोप पनि लगाइएको छ।
न्यु साउथ वेल्सको एक स्थानीय अदालतले उनीविरुद्धको पहिलो सुनुवाइ अस्पतालको शय्याबाटै गरिएको जनाएको छ।
अदालतका अनुसार अब अर्को सुनुवाइ अप्रिल २०२६ सम्मका लागि स्थगन गरिएको छ।
आक्रमणमा घाइते भएका २० जना सिड्नीका विभिन्न अस्पताल उपचाररत छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर छ।
यसबीच घटनास्थलमै मारिएका आक्रमणकारी साजिद अक्रम भारतीय रहेको दाबी गरिएको रिपोर्ट पनि सार्वजनिक भएको छ।
Shares

प्रतिक्रिया