राजनीति


वैदेशिक रोजगारमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने तयारी

वैदेशिक रोजगारमा हुने ठगी रोक्न  ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने तयारी

नेपालखबर
पुस १, २०८२ मंगलबार १५:२९, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प १० सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ।

मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्करले पुस ८ गतेदेखि ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने जानकारी दिए। सबै श्रमिकका लागि आधिकारिक सूचना र सुरक्षित निर्णय गर्न सहयोग गर्नको लागि अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर यो प्रणाली सुरु गर्न लागिएको उनले बताए।

उनका अनुसार देशभरका ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई समेटेर ‘हेल्प टु हेल्प १० सेल’ स्थापना गर्न लागिएको हो। यी सबै स्थानबाट कार्यलय समयमा सेवा लिन सकिने उनले जानकारी दिनुभयो। उनकाअनुसार सेल स्थापना गर्नुका मुख्य तीन वटा उद्देश्य छन्।

श्रमिकले राज्यको आधिकारिक सूचनालाई आधार मानेर निर्णय गर्न सकून्, डिजिटल माध्यमबाट फैलिरहेका ठगी तथा झुटा प्रलोभनबाट जोगिन सकुन् र वैदेशिक रोजगारमा पूर्ण सुरक्षितता सुनिश्चित होस् भन्ने उदेश्य रहेको उनले बताए।

उनकाअनुसार पछिल्लो समय टिकटक, फेसबुकका रिल लगायत सामाजिक सञ्जालमार्फत ‘यति पैसा कमाइन्छ’, ‘फलानो देश सजिलै पठाइदिन्छौँ’ जस्ता भ्रमपूर्ण प्रचार बढेको छ। त्यसबाट श्रमिकलाई जोगाउन यो सेल प्रभावकारी हुने उनको विश्वास छ।

‘हेल्प टु हेल्प १० सेल’ मार्फत वैदेशिक रोजगारमा जाने श्रमिकले १० वटा प्रमुख प्रश्नको उत्तर प्राप्त गर्न सक्नेछन्। यसमा कुन देशमा रोजगारीको माग छ वा छैन, आधिकारिक म्यानपावर कम्पनी कुन हुन्, कामका लागि आवश्यक योग्यता, उमेर, तालिम, स्वास्थ्य अवस्था, लाग्ने खर्च, भुक्तानी प्रक्रिया, सुरक्षित जाने विधि तथा सम्बन्धित निकायका आधिकारिक सम्पर्क ठेगाना लगायतका विषय समावेश छन्। 

उनले भने, ‘सबै श्रमिकको ठगी र सुरक्षाको व्यवस्थापन गर्न श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले पुस ८ गतेदेखी लागू हुनेगरी हेल्प टु हेल्प १० सेल हामी स्थापना गर्न गईरहेका छौँ। त्यो हेल्प टु हेल्प १० सेल भनेको के रहेछ भने ७५३ पालिकामा हाम्रो रोजगार सूचना केन्द्रहरू छ, सात वटै प्रदेशमा श्रम कार्यलयहरू छ, वैदेशिक रोजगार विभाग पनि छ र खास गरेर समाधान कल सेन्टर छ। त्यो हेल्प टु हेल्प १० सेल सेन्टर भनेको हामीले तीन वटा उद्देश्य राखेर शुरु गरिरहेका छौँ।’

मन्त्रालयले हरेक वर्ष डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय रूपमा मनाइने अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि साप्ताहव्यापी रुपमा मनाउन लागेको सचिव पुस्करले जानकारी दिए। पुस १ देखि ७ गतेसम्म नेपालमा ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ भन्ने नाराका साथ २५ औ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन लागिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad