नेकपा (एमाले)का महाधिवेशनबाट पाँच जना युवा नेता केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।
एमाले केन्द्रीय निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार, पाँच जना युवा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। कोटा अनुसार नै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ।
लुम्बिनी प्रदेशबाट युवा केन्द्रीय सदस्यमा लिलामणि गौतम निर्विरोध निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशमा युवाका लागि केन्द्रीय सदस्यका लागि एक पद छुट्याइएको थियो। त्यसमा गौतमको मात्रै उम्मेदवारी परेको हो।
यस्तै, मधेसी समुदायबाट अमरकुमार यादव र रौनित साह निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएका छन्। मधेसी समुदायबाट एमालेले युवाका लागि दुई केन्द्रीय सदस्य छुट्याएको थियो। त्यसमा यादव र साहको मात्रै उम्मेदवारी परेको निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले जनाएका छन्।
खुला केन्द्रीय सदस्यमा पनि युवाबाट नरेश रोकाया र सुशीलकुमार थापा निर्विरोध निर्वाचित भएका छन्। खुलातर्फ एमालेले युवाका लागि दुई सीट तोकेको थियो। त्यसमा रोकाया र थापाको मात्रै उम्मेदवारी परेको हो।
जेनजी आन्दोलनपछि एमालेले युवाका लागि १५ केन्द्रीय सदस्यमा कोटा तोकेको छ। त्यसमा ४० वर्षमूनिका युवाले मात्रै प्रतिस्पर्धा गर्दै छन्।
अब युवातर्फका बाँकी १२ केन्द्रीय सदस्यका लागि ३० युवा प्रतिस्पर्धामा छन्। आज साँझबाट मतदान सुरु हुनेछ।
यो पनि पढ्नुहोस् : एमालेमा १५ युवा केन्द्रीय सदस्यका लागि ३५ उम्मेदवार
Shares

प्रतिक्रिया