राजनीति


लुटिएका हतियार र भागेका कैदीबन्दी फिर्ता गर्न विशेष अपरेसन जारी छः गृहमन्त्री

लुटिएका हतियार र भागेका कैदीबन्दी फिर्ता गर्न विशेष अपरेसन जारी छः गृहमन्त्री

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १९:२६, काठमाडौँ

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ कास्कीको पोखरामा सम्पन्न भएको छ। गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा आयोजना गरिएको  उक्त गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा गृहमन्त्री अर्यालले सुशासन र भ्रष्टाचार निर्मूल गर्ने एवम् तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनतालाई नयाँ नेतृत्व प्रदान गर्नु वर्तमान सरकारको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै उक्त पूर्वनिर्धारित कार्य पूरा गर्न आवश्यक सुरक्षा व्यवस्थापनको कार्य भइरहेको बताए।

स्वच्छ निर्वाचननै लोकतन्त्रको प्रमुख मर्म रहेकोले यसका लागि आवश्यक छलफलको लागि सरकार सदैव तयार रहेको बताउँदै गृहमन्त्री अर्यालले सुरक्षा चुनौतीलाई मध्यनजर गरी जेनजी आन्दोलनमा लुटिएका हतियारहरू फिर्ता गर्न र कारागारबाट भागेका कैदीबन्दीहरूलाई फिर्ता गर्न मन्त्रालयले विशेष अपरेशन चलाइरहेको स्पष्ट पारे।

सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेरिएको राजनीतिक परिस्थिति र थपिएको सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउँदै प्रभावकारी सुरक्षा योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

गोष्ठीमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा शान्ति सुरक्षा कायम गर्नुका साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रहरीले न्यून साधनस्रोतका वावजुद उच्च मनोबलका साथ कार्यसम्पाद  गर्दै आइरहेको बताए।

समाजमा देखापरेका सुरक्षा चुनौतीहरूको सामना गर्न प्रहरी सदैव तयार रहेको बताउँदै गोष्ठीबाट प्राप्त भएका निर्देशन तथा पृष्ठपोषणको उच्चतम सदुपयोग गरी प्रदेश अन्तर्गत प्रभावकारी सुरक्षा व्यवस्थापन र आसन्न निर्वाचन सुरक्षामा प्रदेशस्तरीय निकायहरूबीच प्रभावकारी सहकार्य तथा समन्वयका साथ कार्यसम्पदान गर्ने उनले बताए।

नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठ, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सहसचिव गोविन्द रिजाल, गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे लगायतले आआफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गरेका थिए।

गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गत ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गरेका थिए। गोष्ठीमा गण्डकी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो। 

गोष्ठीको अध्यक्षता गरेका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गरे।

गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गत ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad