यूएईमा जारी यू-१९ एसिया कपमा नेपाली युवा टोलीले लगातार दोस्रो हार व्यहोरेको छ।
सोमबार भएको समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाली युवा टोली बंगलादेशसँग ७ विकेटले पराजित भएको हो। लगातार दुई खेलमा हार भोगेसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ।
अहिलेसम्म नेपाल अंकविहीन रहँदै समूह ‘बी’को पुछारमा छ। लगातार दोस्रो जित निकालेको बंगलादेश भने ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ।
समुह चरणको अन्तिम खेलमा नेपालले बुधबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोली पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो।
नेपालले दिएको १ सय ३१ रनको झिनो लक्ष्य बंगलादेशले २४.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।
बंगलादेशका लागि ओपनर जावद अबरार ७० रनमा अविजित रहे। उनले ६८ बलमा ७ चौका र ३ छक्का हाने। रिजन होसन १२ रनमा नटआउट रहे।
कलम सिद्धीकी ३४ रनमा युवराज खत्रीको बलमा अविशेक तिवारीको हातबाट क्याच आउट हुन पुगे। रिफात बेग ५ रन बनाउँदा अविशेक तिवारीको बलमा निश्चलको हातबाट क्याच आउट भए। कप्तान अजिजुल हाकिम १ रनमा रनआउट भए।
नेपालका लागि अविशेक तिवारी र युवराज खत्रीले समान एक विकेट लिए।
त्यसअघि यूएईको दि सेभेन्स स्टेडियममा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ३१.१ ओभरमा १ सय ३० रन बनाउँदा अलआउट भयो।
नेपालका लागि अविशेक तिवारीले बनाएको ३० रन नै सर्वाधिक रह्यो। उनले ४३ बलमा २ छक्का प्रहार गरे।
आसिश लोहारले २३ रन थपे। ओपनर साहिल पटेलले १८ र निरज यादवले १४ रन थपे। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
नेपालका २ ब्याटर शून्यमा नै आउट भए। सिवरिन श्रेष्ठ र कप्तान अशोक धामीले समान ५ रन बनाए। युवराज खत्रीले ६ रन बनाए। दयानन्द मन्डल २ रनमा अविजित रहे।
नेपाललाई कम स्कोरमा रोक्न बंगलादेशका लागि मोहम्मद सोबुजले ३ विकेट लिए। साद रजिन, शाहिरर अहमद र अजिजुल हाकीमले समान २ विकेट लिए। शाहरिर अहमदले एक विकेट आफ्नो नाममा गरे।
Shares

प्रतिक्रिया