राजनीति


स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप

स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १३:६, काठमाडौँ

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको आरोप लगाएका छन्। 

प्रधानमन्त्री सुशीला कार्कीले सरकार बनेको तीन महिनापछि पनि मन्त्रिपरिषद् विस्तार गरेर फागुन २१ मा निर्वाचन नगर्न प्रपञ्च रचेको साहको भनाइ छ। सरकार जेनजीको भावना विपरित चल्न थालेको र एकपछि अर्को गरेर गलत निर्णय लिन थालेको आरोप छ। 

विषयविज्ञता एउटा भएको र मन्त्रीलाई नियुक्ति अर्कैमा दिइएको भन्दै पछिल्लो मन्त्रिपरिषद् विस्तारमा पनि प्रधानमन्त्री कार्की स्वार्थ समूहको प्रभावमा परेको जिकिर थियो। ‘यस्तै पाराले चुनाव हुन्छ त? चुनाव गराउने अर्जुनदृष्टि राख्नुहोस्, विचौलिया र स्वार्थसमूहको प्रभावमा नपर्नुहोस्’,’ उनले भने। 

आजपाले ‘संसद् पुनःस्थापनाको षड्यन्त्र रोक्न’ भन्दै काठमाडौँको गैरीगाउँमा आयोजना गरेको काठमाडौं क्षेत्र नं. १ र २ को संयुक्त विशेष क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले सरकारलाई सच्चिएर आफ्नो म्यान्डेटतर्फ ध्यान दिन सुझाए। 

उनले फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गराउने मूल दायित्व नबिर्सिन प्रधानमन्त्री कार्कीको ध्यानाकार्षण गराए। प्रतिनिधि सभा पुनःस्थापनाको लागि भइरहेको षड्यन्त्रको पर्दाफास गर्न र तोकिएकै मितिमा निर्वाचन गराउनका लागि दबाब दिनुपर्ने बताए। 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव नचाहेको र संसद् पुनःस्थापनको लागि षड्यन्त्रको तानाबाना बुनेको उनको आरोप थियो। त्यसमा प्रधानमन्त्री कार्कीले पनि सहयोगीको भूमिका खेलिरहेको उनको दाबी थियो। 

‘जेनजी आन्दोलनमा दमन गरेका केपी ओलीहरूले संसद् पुनःस्थापनाको षड्यन्त्र गरिरहेका छन्। कांग्रेसमा देउवा ग्याङ ओलीकै पुच्छर बनेर अदालत धाउन थालेको छ,’ साहले प्रश्न गरे, ‘अनि प्रधानमन्त्री पनि उनीहरूकै डिजाईनमा हिँड्न खोजेको संकेत देखियो। होईन भने कसको स्वार्थमा चार जना मन्त्रीहरू थप्नुभयो, के आधारमा नियुक्त गर्नुभयो?’

उनले सरकार र जेनजीबीच भएको पछिल्लो सम्झौता पनि धोकाको दस्तावेज भएको टिप्पणी गरे। वर्तमान सरकारले जेनजी आन्दोलनको मूल मर्म र भावनामाथि पटकपटक प्रहार गरेको उल्लेख गर्दै पछिल्लो पटक सम्झौताको नाटक देखाएर अर्को धोका दिएको उनको आरोप थियो।  

त्यस्तै, कुलमान घिसिङ सरकारमा बसेर हालीमुहाली गर्ने र आफ्नो दुनो सोझ्याउने काममा तल्लिन रहेको आरोप लगाए। निर्दलीय सरकारमा बसेर दल खोल्ने अनि दलको प्रचारको लागि सरकारी साधन–स्रोतको चरम दुरूपयोग गरेर मन्त्री कुलमानले नेपाली जनतालाई झुक्याउने काम गरेको भन्दै प्रधानमन्त्रीले तत्काल उनलाई बर्खास्त गर्नुपर्ने माग गरे। 

आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघका अध्यक्ष कालबहादुर विकको अध्यक्षमा भएको भेलामा आजपा सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगर, वरिष्ठ पत्रकार ऋषी धमला, संविधान सभाका अर्का सदस्य योगेन्द्र घिसिङ, सचिवालय सदस्य बालकृष्ण सापकोटा, कबाड व्यवसायीका नेता रामकेवल गुप्ताले बोलेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad