राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेस प्रदेशकी सांसद कन्चन बिच्छालाई समानुपातिकतर्फतको बन्द सूचीबाट हटाउने निर्णय गरेको छ।
राप्रपाको शुक्रबार काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले सांसद बिच्छालाई समानुपातिक सूचीबाट हटाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। यससँगै राप्रपाले सांसद बिच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट हटाउने निर्णय पनि अनुमोदन गरेको छ।
राप्रपाको निर्णयमा भनिएको छ, ‘पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी हुनु भएका मधेस प्रदेशका समानुपातिक महिलातर्फका सांसद कन्चन बिच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निष्काशन गर्ने केन्द्रीय कार्य सम्पादन समितिको निर्णय अनुमोदन गर्दै निजलाई मधेस प्रदेशको महिला समानुपातिकतर्फको बन्द सूचीबाट हटाउने निर्णय गरेको छ।’
सांसद बिच्छा नेकपा (एमाले) नेतृत्वमा बनेको मधेस प्रदेश सरकारमा सहभागी भएकी थिइन्। उनलाई राप्रपाले सांसदबाट हटाएको थियो।
त्यसविरुद्ध उनी सर्वोच्च अदालत पुगेकी थिइन्। सर्वोच्चले उनलाई सांसदबाट नहटाउन मंसिर २३ मा अन्तरिम आदेश दिएको थियो।
Shares

प्रतिक्रिया