नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुराबाट अन्तिम पटक चुनाव लड्ने तयारी गरेका छन्।
लगातार सात पटक अपराजित रहेका पूर्वप्रधानमन्त्री देउवा आठौं पटक प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्।
डडेल्धुराबाट चुनाव लड्न देउवाको नाम एकल सिफारिस गरिएको छ। बिहीबार बसेको नेपाली कांग्रेस डडेल्धुरा कार्यसमितिको बैठकले उनको नाम सिफारिस गरेको हो।
देउवालाई आगामी चुनावको निर्विकल्प उम्मेदवार अघि सारेको डडेल्धुरा कांग्रेसले समानुपातिकमा नरभान कामी र मानकुमारी थापाको नाम सिफारिस गरेको छ।
यस्तै, राष्ट्रियसभाको लागि भीमबहादुर साउद र रघुवर भट्टको नाम सिफारिस भएको छ।
नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउद, देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर कार्की लगायत जिल्लाका नेताले केहीदिन अघि सभापति देउवालाई भेटेर चुनाव लड्न आग्रह गरेका थिए।
त्यसपछि देउवाले जनताको इच्छा भए अन्तिम पटक चुनाव लड्न तयार रहेको उनीहरूलाई सुनाएका थिए। त्यही अनुसार उनको नाम बिहीबार जिल्ला कार्यसमितिले सिफारिस गरेको हो।
‘सांघातिक आक्रमण भएको बेला उहाँप्रति सहानुभूति छ। एकपटक चुनाव जिताएर सम्मानजनक बिदाइ गर्नुपर्ने सबैलाई लागेको छ,’ गन्यापधुरा गाउँपालिकका अध्यक्षका इन्द्र बहादुर कार्की भन्छन्, ‘सभापतिज्यू सकरात्मक हुनुहुन्छ। अन्तिम पटक चुनाव लड्ने बताउनुभएको छ।’
बहुदल आएपछि ०४८ सालदेखि डडेल्धुराबाट चुनाव लड्दै आएका देउवा अपराजित छन्। डडेल्धुराका जनताले ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ मा विजयी गराएका देउवा ५ पटक प्रधानमन्त्री बनेका छन्।
०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार सागर ढकाल १२ हजार ४९२ मतान्तरले देउवासँग हारेका थिए।
०४८ मा देउवासँग एमालेका गोविन्दबहादुर कलौनी १७ हजार ९४५ मतान्तरले पराजित भएका थिए।
०५१ को मध्यावधि चुनावमा नेपाल जनवादी मोर्चाका खेमराज भट्ट, ०५६ मा एमालेका बागेश्वरीदत्त चटौत, ०६४, ०७० र ०७४ मा माओवादीका खगराज भट्ट देउवासँग चुनाव हारेका थिए।
Shares

प्रतिक्रिया