वैदेशिक रोजगारका दलालसँग सेटिङ मिलाएर भिजिट भिसामा विदेश जानेसँग अवैध रकम असुल्ने नेपाल सरकारका बहालवाला सहसचिव र शाखा अधिकृतसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै तत्कालिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुख रहेका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्याल लगायत ६ जनालाई प्रतिवादी बनाएको हो।
भट्टराईसँग ७९ लाख बिगो माग
अनुसन्धानका क्रममा अख्तियारले मुख्य प्रतिवादी सहसचिव भट्टराईविरुद्ध करिब ७९ लाख रुपैयाँ बिगो दाबी गरेको छ। शाखा अधिकृत अर्यालविरुद्ध भने ५ लाख रुपैयाँ बिगो माग दाबी गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ। मुद्दा दायर भएका अन्य चार जना व्यक्तिहरू भने भिजिट भिसा तस्करीको धन्दामा संलग्न बिचौलिया तथा अन्य सहयोगीको भूमिकामा थिए।
श्रृंखलाबद्ध अनुसन्धानमा भिजिट भिसामा विदेश जाने सर्वसाधारणबाट अध्यागमनका अधिकारीले अवैध रूपमा पैसा असुलेको तथ्य देखिएको थियो। यही क्रममा सहसचिव भट्टराईलाई अख्तियारले २०८२ जेठ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो। उनी त्यतिबेला विमानस्थल अध्यागमन कार्यालयको नेतृत्व गरिरहेका थिए।
यसअघि पनि भिजिट भिसा तस्करी र किर्तेसम्बन्धी एउटा ठूलो प्रकरणमा प्रहरीको अनुसन्धानपछि २०८० माघमा सरकारी वकिल कार्यालय, काठमाडौंले विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्तेको अभियोगमा मुद्दा दायर गरेको थियो।
सो मुद्दामा एक वर्षपछि २०८१ मंसिर १४ गते काठमाडौं जिल्ला अदालतले अध्यागमनका अधिकारीहरूलाई सफाइ दिएको थियो।
केही यात्रुका नामावली बाल कृष्ण खड्कासमेतले पठाएको नामावलीसँग दोहोरिन गएको देखिएको छ।
भिजिट भिसामा विदेश जाने यात्रुको नामावली प्राप्त गर्ने, नामावलीहरुलाई विभिन्न डायरीहरूमा यात्रुहरुका नामावली, गन्तव्य मुलुक, प्रस्थान मिति समेतका विवरण टिपी उल्लिखित पानाहरूमा सांकेतिक रूपमा हिसाबकिताब समेत राख्ने गरेको पाइएको छ।
घुस वापतको रकम अध्यागमन अधिकृतहरुबीच बाँडफाँड गर्ने, उक्त घुस रिसवतबाट प्राप्त ठूलो रकम कविता पौडेलको नाममा जग्गा कारोबारी समेत रहेका खेमप्रसाद सुवेदी मार्फत जग्गा खरिद गराइदिएको पाइएको छ।
कविता पौडेलमार्फत खेमप्रसाद सुवेदीलाई दिएको, खेमप्रसाद सुवेदीले कविता पौडेलबाट पटक पटक नगदै रकम लिएको र उक्त रकम लिन जादाँ तिर्थराज भट्टराईलाई सोधेर मात्र रकम लिन जाने गरेको, खेमप्रसाद सुवेदीलाई नगदै रकम दिँदा कविता पौडेलले आफ्नो कार्यालयमा काम गर्ने मोहन अधिकारीलाई बैङ्कबाट रकम झिक्न लगाएको र बैङ्कमा रकम रहेको श्रोत देखाउनका लागि सोनाम तामाङसँग सरसल्लाह गरी जग्गाको बैना फिर्ता गरेको कागज गरेको खुलेको छ।
भट्टराईले घुस रिसवत वापत प्राप्त रकम कविता पौडेल तथा खेम प्रसाद सुवेदीमार्फत परिचालन गरे गराएको तथ्य पुष्टि भएको अख्तियारको दाबी छ। उनीहरुको बिचमा सयौँ पटक टेलिफोन संवाद भएको पाइएको छ।
भट्टराईसहित केही प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ३ बमोजिमको कसुरमा समेत मुद्दा दायर गरिएको छ।
Shares

प्रतिक्रिया