नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले वर्तमान सरकारले अध्यक्ष केपी ओलीसँग बयान लिन नसक्ने दाबी गरेका छन्।
यातायात श्रमिक तथा व्यवसायीको भेलालाई आज काठमाडौँमा सम्बोधन गर्दै उनले सरकार र सरकारबाट पालित पोषित व्यक्ति र मिडियाले एमाले र एमाले अध्यक्ष ओलीविरुद्ध विभिन्न खालका भ्रम फिँजाइरहेको पनि आरोप लगाए।
एमाले महाधिवेशनमा डर र आतङ्क सिर्जना गर्न एमाले अध्यक्ष ओलीलाई गिरफ्तार गर्ने हल्ला फिँजाइएको तर्क गर्दै उनले भने, ‘केपी ओलीलाई गिरफ्तार गरेर बयान गराउन सक्ने यो धर्तीमा कोही पनि जन्मिएको छैन।’
एमाले महाधिवेशन भाँड्नको लागि यातायातमन्त्री कुलमान घिसिङले नागढुंगामा सडक अवरुद्ध गर्ने सूचना सार्वजनिक गरेको तर्क पनि उनले गरे।
हिजो एमालेको टोलीले गएर कुलमानलाई बाटो बन्द नगर्न आग्रह गरेको उनले बताए।
‘यदि एमालेको महाधिवेशन भाँड्ने नियतले सडक बन्द गर्न खोजिएको हो भने एमालेका दशौँ हजार कार्यकर्ता र भोलेन्टियर जम्मा भएर बाटो खोल्छन्, बाटो थुन्नेहरूलाई त्रिसुलीमा नुहाउन पठाइदिन्छन्, होस् गर्नु’, उनले भने।
बस्नेतले सुशीला कार्कीको सरकारलाई एमालेले फु गरेर ढालिदिने दाबी पनि गरे।
विद्यादेवी भण्डारी र ईश्वर पोखरेललाई उचालेर आफ्नो अभीष्ट पुरा हुन्छ भन्ने कुरा नसोच्न पनि उनले प्रधानमन्त्रीलाई चेतावनी दिए। ‘विद्या भण्डारी र ईश्वर पोखरेलहरुले केपी ओलीलाई गिरफ्तार गर्न उकासी रहेका छन्,’ बस्नेतले भने।
Shares

प्रतिक्रिया