नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीभित्र व्यक्तिवाद बढ्दै गएको आरोप लगाउँदै अध्यक्षको कार्यशैली र संरचनात्मक कमजोरीबारे कडा टिप्पणी गरेका छन्।
सोमबार ईश्वर पोखरेल समूहले गरेको कार्यक्रममा एमालेलाई केही व्यक्तिको निर्णयमा निर्भर ‘व्यक्तिवादी पार्टी’ बनाउन खोजिएको दाबी गर्दै आन्तरिक लोकतन्त्रलाई सुरक्षित गर्न अब ठोस सुधार आवश्यक रहेको बताए।
पाण्डेले भने, ‘यो लोकतान्त्रिक पार्टीलाई व्यक्तिवादी पार्टीमा, केही व्यक्तिको निर्णयबाट चल्ने पार्टीमा रुपान्तरण गर्ने कोसिस हुँदै छ। यसबाट एमाले जनताको बीचमा साघुँरिने, खुम्चिने अवस्था आउँदै छ।’
उनका अनुसार यस्तो अभ्यासले एमालेमा नयाँ पुस्ताको आकर्षण घट्दै गएको छ। उनले प्रश्न उठाए, ‘नवपुस्ताले पनि देख्यो-चुनाव नहुने पार्टीमा किन आउने? प्रतिस्पर्धा गर्न नपाउने पार्टीमा किन आउने? माथिबाट लिस्ट पेस गर्ने पार्टीमा किन आउने?’
पार्टीलाई स्वस्थ, प्रतिस्पर्धात्मक र लोकतान्त्रिक बनाउन उनले अध्यक्षको कार्यकाल दूइपटकभन्दा धेरै नहुने व्यवस्था अनिवार्य रूपमा गर्नुपर्ने बताए। पाण्डेले स्पष्ट रूपमा भने, ‘एउटा पार्टी दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था ल्याउनुपर्छ। त्यसो हुने बित्तिकै धेरै समस्या समाधान हुन्छ।’
अध्यक्ष केपी शर्मा ओलीले व्याख्या गर्ने जबज को अवधारणाबारे पनि उनले गम्भीर प्रश्न उठाए। पाण्डेले भने, ‘उहाँले भन्नुहुने जबज देशभर कसैले चिन्दैनन्। माथिबाट नाम पेस गर्ने र अघि बढाउनेलाई जबज भन्नुहुन्छ-यो जबजब हो र?’
उनले दुई कार्यकाल र ७० वर्ष उमेर सीमाबाट पछाडि हट्न नहुनेमा जोड दिए। महाधिवेशनले यही दिशामा जाने विश्वास व्यक्त गर्दै पाण्डेले भने, ‘नेकपा एमालेले आफूले नै अंगालेको कुराबाट पछाडि हट्न मिल्दैन। महाधिवेशनले सही दिशानिर्देश गर्छ भन्ने कुरासहित आएका छौँ।’
Shares

प्रतिक्रिया