राजनीति


घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १६:५८, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई तय गरिएको मितिमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आग्रह गरेकी छन्। 

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको भेटमा भण्डारीले यस्तो सुझाव दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

मन्त्री खरेलका अनुसार भेटका क्रममा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सरकारले गरिरहेका कामबारे पूर्वराष्ट्रपति भण्डारीलाई जानकारी गराएकी थिइन्। सरकारका कामप्रति भण्डारीले सकारात्मक धारणा व्यक्त गर्दै समयमै निर्वाचन सम्पन्न गर्ने प्रक्रियामा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउने पनि खरेलले बताए।

मन्त्री खरेलले भने, ‘घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पूर्वराष्ट्रपतिज्यूले सल्लाह दिनुभयो। आवश्यक परेको सहयोगका लागि आफू तैयार रहेको पनि उहाँले भन्नुभयो।’ भेटको सुरुवात स्वास्थ्य र दिनचर्याबारे सामान्य पारिवारिक कुराकानीले भएको र त्यसपछि समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित भएको उनले बताए।

भेटअघि पूर्वराष्ट्रपति भण्डारीले ‘जेनजी आन्दोलन’का क्रममा आगजनी भएपछि क्षतिग्रस्त बनेका सिंहदरबारभित्रका संरचनाको अवलोकनसमेत गरेकी थिइन्। त्यही क्रममा प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट भएको हो।

भेटका क्रममा गत जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिप्रति दुवै जनाले दुःख व्यक्त गरेका थिए। प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीको घरमा पुगेको क्षतिप्रति पनि दुःख व्यक्त गरिन्।

पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ र २४ गते भएका घटनाका दोषी पत्ता लगाई सरकारले कारबाहीको दायरामा ल्याउन सक्ने विश्वास पनि व्यक्त गरिन्।

यसैक्रममा प्रधानमन्त्री कार्कीले उक्त घटनापछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नुपरेको जानकारी दिँदै सरकारले ती घटनाका विषयमा छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्।

साथै उनले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ काम गरिरहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad