नेकपा (एमाले)को ११औं महाधिनवेशन चुनिएर आएका प्रतिनिधिको विषयले विवाद उत्पन्न गरेको छ। शुक्रबार एमाले केन्द्रीय कार्यालयमै नेताहरू हातपातमा उत्रिएका छन्। संगठन विभागका प्रमुखको कार्यकक्षमै असन्तुष्ट पक्षले भनाभन गर्दै हात हालाहाल गरेको छ।
एमाले महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर केही जिल्लामा विवाद भइरहेको छ। आजको विवाद पनि प्रतिनिधि छनोटकै विषयमा भएको हो। यसमा एमालेको जनवर्गिय संगठन आदिवासी जनजाति लोकतान्त्रिक महासंघ जोडिएको छ।
आदिवासी जनजाति लोकतान्त्रिक महासंघबाट प्रतिनिधि हुनका लागि ४२ जनाले उम्मेदवारी दिएका थिए। तर, निर्वाचन भएन। उनीहरूमध्ये सात जनालाई प्रतिनिधिका रुपमा चयन गरियो।
यसलाई लिएर महासंघले विरोध गर्दै आएको छ। विधि र प्रक्रियाबाट नभएर बन्द कोठाबाट प्रतिनिधि छनोट गरिएकाले विरोध गर्नुपरेको महासंघका महासचिव पेम्बा भोटेले जनाएका छन्।
यस विषयलाई लिएर महासंघले केही दिनअघि एमाले संगठन विभागमा उजुरी दिएको थियो। लामो समयसम्म उजुरीमाथि छानबिन नभएछि महासंघको टोली शुक्रबार च्यासल पुगेको हो। उजुरीबारे जानकारी लिन च्यास पुगेको महासचिव भोटेले जनाएका छन्।
महासंघको टोलीले एमाले संगठन विभाग प्रमुख कासीनाथ अधिकारी र स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग सोधपुछ गरेको थियो। उनीहरूलाई उजुरीबारे छानबिन गर्न र पुनः प्रतिनिधि छनोट गर्नुपर्ने माग गरेका थिए।
त्यही क्रममा एमाले केन्द्रीय कार्यालयस्थित संगठन विभागको कार्यकक्षमै नेता तथा कार्यकर्ताबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा हात हालाहाल र धक्कामुक्का भएको प्रत्यक्षदर्शीले बताएका छन्।
एमाले संगठन विभाग प्रमुख अधिकारीले पनि आफ्नो कार्यकक्षमा भनाभन भएको बताए। ‘आदिवासी जनजाति महासंघका साथीहरू आउनु भएको हो। त्यही वेला एकआपसमा धक्कामुक्की भयो,’ अधिकारीले नेपालखबरसँग भने, ‘मेरो कार्यकक्षमा भएको हो। मसँग होइन कि उनीहरूको आपसको हो। अलिकति चर्को स्वरमा हात हालाहाल भएको हो।’
बाहिर चर्चा भएको जस्तो मारपिट नभएको उनको भनाइ छ। असन्तुष्ट कार्यकर्ताबीच सामान्य भनाभन भएको बताउँदै अधिकारीले भने, ‘धकेलाधकेल गरे होलान, मारपिटै भएको होइन।’
एमालेको ११औं महाधिवेशन मंसि २७ गतेदेखि काठमाडौँमा हुँदै छ। महाधिवेशनले नेतृत्व चयन गर्नेछ। अध्यक्षका लागि केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
जसले गर्दा एमाले प्रतिनिधि छनोटमा पनि दुवै पक्षबीच प्रतिस्पर्धा चलिरहेका छ। दुवै पक्षका हाराहारी कार्यकर्ता भएको क्षेत्रमा विवाद पनि भइरहेको छ। एमाले नेतृत्व छनोट गर्न दुई हजार दुई सय ५० भन्दा बढी प्रतिनिधि छनोट हुँदै छन्।
Shares

प्रतिक्रिया