ad ad

राजनीति


चिनियाँ ल्याबबाटै कोरोना भाइरस फैलिएको प्रमाण खोज्न जासुसहरुलाई ट्रम्प प्रशासनको दबाब

चिनियाँ ल्याबबाटै कोरोना भाइरस फैलिएको प्रमाण खोज्न जासुसहरुलाई ट्रम्प प्रशासनको दबाब

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ११:१६,

ट्रम्प प्रशासनका उच्च अधिकारीहरुले कोरोना भाइरस महामारीको सुरुवात चिनियाँ प्रयोगशालाबाटै भएको प्रमाण खोज्न अमेरिकी जासुसी संस्थाहरुलाई दबाब दिएका छन्।

ट्रम्प प्रशासनको यस्तो दबाबले भाइरसको स्रोत के थियो र महामारी कसरी सुरु भएको थियो भन्ने निश्कर्षलाई तोडमोड गर्नसक्ने तथा त्यसलाई राजनीतिक हतियारको रुपमा प्रयोग गरिने जोखिम बढेको भन्दै गुप्तचर विश्लेषकहरु चिन्तित भएका छन्।

केही अमेरिकी अधिकारीहरुले चीनको वुहानस्थित सरकारी प्रयोगशालाबाट चुहावट भएको भाइरसले महामारीको रुप लिएको निराधार दाबी गर्दै आएका छन्।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महामारीको दोष चीनको थाप्लामा हाल्ने प्रयास गरिरहेका छन्।

कोरोना भाइरस प्रयोगशालाबाट उत्पन्न भएको हो भनेर पुष्टि गर्ने स्पष्ट प्रमाण नभेटिनेमा लगभग सबै गुप्तचर निकाय ढुक्क छन्। कोरोना भाइरसबारे अध्ययन गरेका वैज्ञानिकहरु पनि यो प्रयोगशालाबाट होइन, एचआईभी, इबोला र सार्सजस्तै जनावरबाट मानिसमा सरेको हुनसक्ने सम्भावना बढी रहेको बताउँछन्।

ट्रम्प प्रशासन अमेरिकामा कोरोना महामारी पूर्ण असफल भएपछि ट्रम्पका सहयोगी र रिपब्लिकन सांसदहरु यसको दोष चीनको थाप्लोमा हाल्न प्रयासरत छन्। अमेरिकामा १० लाखभन्दा बढी संक्रमित भएका छन् भने ६० हजारभन्दा बढीको ज्यान गइसकेको छ।

गुप्तर निकायहरुलाई दबाब दिने कार्यको नेतृत्व विदेशमन्त्री तथा सीआईएका पूर्वनिर्देशक माइक पोम्पेओले गरेको अधिकारीहरुले बताएका छन्।

त्यस्तै सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार म्याथ्यु पोटिन्जरले पनि भाइरस प्रयोगशालाबाट उत्पन्न भएको सिद्धान्तलाई सहयोग गर्नसक्ने जुनसुकै सूचना पनि संकलन गर्न निर्देशन दिएका छन्।

सीआईएले भने यस्तो सिद्धान्तलाई सघाउने कुनै प्रमाण नभएको जवाफ दिएको थियो। भाइरस प्रयोगशालामा उत्पन्न भएको भन्ने आरोपप्रति चीनले उग्र विरोध गर्दै आएको छ।

यस विषयमा विदेश मन्त्रालय, ह्वाइट हाउस र राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ताहरुले टिप्पणी गर्न अस्वीकार गरे।

नेसनल इन्टेलिजेन्सका निर्देशकको कार्यालयका एक अधिकारीले भने गुप्तचर निकायहरु भाइरसको स्रोत प्रयोगशाला भएको भन्ने सिद्धान्तमा असहमत रहेको, तैपनि नीतिनिर्माताहरुलाई भएका सूचना उपलब्ध गराइरहेको जानकारी दिए।

वैज्ञानिक, गुप्तचर र सरकारी अधिकारीले महिनौँदेखि भाइरसको सुरुवातसम्बन्धी विभिन्न सिद्धान्त अघि सारिरहेका छन्।

तर, कोरोना भाइरस मानिसमा कसरी सर्‍यो भन्नेबारे अहिलेसम्म ठोस प्रमाण फेला परेको छैन। न्युयोर्क टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .