नेकपा एमाले खोटाङमा एघारौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया विवादित बनेको छ। जिल्ला अध्यक्ष देवविक्रम राईले सार्वजनिक गरेको प्रतिनिधि सूचीप्रति असहमति जनाउँदै २८ जना युवा नेताले संयुक्त वक्तव्य जारी गरेका छन्।
उनीहरूले पार्टी विधानको मर्म विपरीत प्रतिनिधि छनोट भएको भन्दै प्रक्रिया सच्याउन माग गरेका छन्। 'पार्टी विधानको धारा ७५, ७६ र ७७ को उल्लंघन गर्दै प्रतिनिधि छनोट गरिएको छ', कोशी प्रदेश लेखा आयोगका सचिव ओमप्रकाश घिमिरेले भने, 'गलत प्रक्रिया तत्काल सच्याउनुपर्छ।'
विधानका ती धाराहरूमा पार्टीको सार्वभौम अधिकार सदस्यमा निहित हुने, लोकतान्त्रिक कार्यविधि अपनाउनुपर्ने र भिन्न मतलाई निषेध गर्न नहुने व्यवस्था छ।
असन्तुष्टहरू 'आवश्यक प्रक्रिया पूरा नगरी' नेतृत्वको गोजीमा तयार पारिएको सूची सार्वजनिक गरिएको छ। तर, अध्यक्ष राईले भने निर्विरोध सहमतिमा निर्णय भएको दाबी गर्दै दश जना प्रतिनिधिको नाम सार्वजनिक गरेका छन्।
सार्वजनिक सूचीअनुसार खुलातर्फ कुमारप्रसाद आचार्य, देवविक्रम राई, पिके राई, रामप्रसाद दंगाल र सुरेन्द्रकुमार राई प्रतिनिधिमा चयन भएका छन्। युवातर्फ जगत राई र दलिततर्फ दीपक ठटाल चयन भएका छन्। त्यस्तै, महिलातर्फ कविता राई, पुष्पकला भुजेल र विणादेवी राई प्रतिनिधिमा छनोट भएका छन्।
विवादबारे खोटाङबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पोलिटब्युरो सदस्य विशाल भट्टराईले भने प्रतिनिधि छनोट प्रक्रिया सामान्य भएको स्पष्ट पारेका छन्। 'खोटाङमा जिल्ला कमिटी बैठकले एउटा म्यान्डेट दिएको थियो। हामी नौ जना बसेर निर्णय गरेको हो', भट्टराईले नेपालखबरसँग भने, 'चुनाव गर्दा पनि कसैले हारे भन्ने गुनासो आउँथ्यो होला। पाउनु पर्नेले नपाएको मान्न सक्छन्।'
उनले सबै क्षेत्र, भूगोल र प्रतिनिधित्व समावेशी रूपमा मिलाइएको दाबी गरे। 'लैंगिक हिसाबले सबैलाई न्याय दिइएको छ। गुटगत आधारमा छानिएको होइन', भट्टराईले भने, 'पहिला पराजित भएका साथीहरू पनि सूचीमा पर्नुभएको छ।'
युवा नेताहरूले भने लोकतान्त्रिक प्रक्रिया पूरा नगरी केवल बैठकबाट प्रतिनिधि तय गरिएकोमा असहमति जनाएका हुन्। उनीहरूले पार्टी केन्द्रको ध्यानाकर्षण गराउने र आवश्यक परे थप आन्दोलनात्मक कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

Shares

प्रतिक्रिया