राजनीति


तालिका सार्वजनिक गर्ने कांग्रेसको तयारी, महाधिवेशन जुनसुकै बेला रोकिन सक्ने

तालिका सार्वजनिक गर्ने कांग्रेसको तयारी, महाधिवेशन जुनसुकै बेला रोकिन सक्ने

कांग्रेस सभापति शेरबहादुर देउवा। फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०८२ आइतबार १७:१८, काठमाडौँ

नेपाली कांग्रेसले १५औं महाधिवेशन नियमित गर्ने गरी तालिका ल्याउने तयारी गरेको छ। आइतबार सभापति शेरबहादुर देउवाको भाडाको निवास महाराजगञ्जमा बसेको पदाधिकारी र केही नेताको छलफलले पुस २७देखि ३० गतेसम्मको तालिका ल्याउने र तत्काल प्रक्रिया सुरु गर्ने निष्कर्ष निकालेको हो। 

छलफलमा सहभागी नेता रमेश लेखकका अनुसार पुस मसान्तको तालिका ल्याउने विषयमा सहमतिनजिक पुगेको बताए। 'हिजो(शनिबार) मोटामोटी सहमति भइसकेकै हो। केही विषयहरू थिए त्यसमा पनि सहमतिउन्मुख छ,' उनले भने, 'अब अधिवेशनका लागि पुसमा क्यालेन्डर  निकाल्ने, महाधिवेशन तोक्ने, आवश्यक समितिहरू बनाउने, क्रियाशील सदस्यता छानबिन तथा विधान मस्यौदाको विषयमा छलफल भयो।'

नियमित महाधिवेशन पुस महिनामा गर्दा फागुन २१ मा तय भएको प्रतिनिधि सभा निर्वाचनका कारणले कुनै असर गर्दैन भन्ने प्रश्नमा उनले जहाँ समस्या उत्पन्न हुन्छ त्यहाँ प्रक्रिया रोकेर सहमतिको लागि प्रयास थाल्ने गरी प्रक्रियाअगाडि बढाउन लागिएको बताए।  

'काम द्रुतरुपमा गर्दै जाने। सर्वसम्मतिले समयमै सबै काम भयो भने महाधिवेशन गर्ने कुरामा समस्या भएन। केही गरी काम सकिएन, सर्वसम्मत भएन भने त्यही बेला सरसल्लाह गर्ने सहमति जुटाउने कुरा भएको छ,'उनले भने।   

नेपाली कांग्रेसभित्र पार्टीको नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषयले लामो समयदेखि विवाद चर्किँदो छ। खासगरी महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशन अब सम्भव नभएको भन्दै विशेष महाधिवेशनको विकल्प नभएको बताउँदै आएका छन्। 

उनीसहितको सक्रियतामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा हस्ताक्षरसमेत बुझाएका छन्। हस्ताक्षर बुझाएको  ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ।  

विशेषको समयअवधिभित्रै नियमित महाधिवेशन सुरु गरेर विशेषको प्रस्तावलाई थाती राख्ने रणनीतिमा संस्थापन लागेको हो। 

सभापति शेरबहादुर देउवासहित उनको समूहका नेताहरूले भने विशेष नगरी नियमितमा जोड दिँदै आएका छन्। देउवा समूहकै पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलासहित नेताहरू भने वैशाखमा महाधिवेशन गर्नुपर्ने र त्यसअघि निर्वाचनको तयारीमा लाग्नुपर्ने पक्षमा छन्।  

असोज २८ गतेदेखि यही वरिपरि कांग्रेस केन्द्रीय समिति बैठक रुमल्लिएको छ। असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर उपचारका लागि देशबाहिर गएका देउवा एक महिनापछि फर्किँदासम्म नेताहरूले सहमति जुटाउन नसकेपछि आफैँ सहजीकरणका लागि सक्रिय भएका छन्। 

पछिल्लो तीन दिन लगातार देउवाले महाधिवेशन केन्द्रित रहेर नेताहरूसँग छलफल गरिरहेका छन्।

नेताहरूबीच सहमति नहुँदा केन्द्रीय समिति बैठक कार्यवाहक सभापति खड्काले सार्दै आइरहेका छन्। पछिल्लोपटक सोमबारसम्मलाई बैठक सारिएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad