कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघका पक्षराष्ट्रको सम्मेलनको ३० औँ श्रृङ्खला (कोप–३०) मार्फत हिमालको एजेण्डा विश्वव्यापी रुपमा स्थापित गर्न सफल भएको बताएका छन्।
आइतबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री परियारले सो दाबी गरेका हुन्। उनले कोप–३० मा नेपालको सहभागिता विगतको तुलनामा थप सफल र प्रभावकारी भएको दाबी गरे।
उनले सम्मेलनमा हिमालको एजेण्डा उठाउँदै हिमाल संरक्षणको मुद्दालाई छुट्टै मुद्दाको रुपमा स्थापित गर्न सफल भएको पनि बताए। नेपालले उठाएको हिमालको मुद्दालाई अन्य साना तथा टापु राष्ट्रहरुले समेत समर्थन दिएको बताए।
उनले हानि नोक्शानी कोषका कार्यकारी निर्देशकसमक्ष नेपाललाई क्षतिपूर्ति दिने सन्दर्भमा प्राथमिकतामा राख्न आग्रह गरेको उल्लेख पनि गरे।
उनले भने, ‘हामीले ‘लस एण्ड ड्यामेज फन्ड’को कार्यकारी निर्देशकसँग भेट्ने मौका पायौं। भेटमा हामीले हानि नोक्शानीको प्रस्तावबारे जानकारी गराउँदै नेपाललाई विशेष ग्रायता दिन तथा प्रोजेक्ट दिनको लागि पनि अनुरोध गरेका छौँ। उहाँहरू सरकारात्मक नै हुनुहुन्छ। सम्मेलनमा माउन्टेन एजेण्डालाई स्ट्रङ्ली पुटअप गर्न सकिएको छ। विभिन्न शीर्षकमा भएको समूहगत छलफलमा समेत नेपालको बलियो उपस्थिति भएको छ।’
उनले मुलुकको वर्तमान राजनीतिक कठिनाईका बीच कोपमा नेपालको सफल र प्रभावकारी सहभागिता रहेको बताए।

प्रतिक्रिया