राजनीति


महाधिवेशन प्रतिनिधिको चुनावमा कुटाकुट हुन थालेपछि योगेशको अपिल: आवेगले दुर्घटना निम्त्याउँछ (भिडिओ)

महाधिवेशन प्रतिनिधिको चुनावमा कुटाकुट हुन थालेपछि योगेशको अपिल: आवेगले दुर्घटना निम्त्याउँछ (भिडिओ)

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १४:३, काठमाडौँ

नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न शनिबार देशभर भएका निर्वाचनको नतिजा आज (आइतबार) आउने क्रम जारी छ। 

यस क्रममा कतिपय स्थानमा मतपरिणामबाट त कतिपय स्थानमा सर्वसम्मत रूपमा एमाले महाधिवेशन प्रतिनिधि चुनिएका छन्। तर कतिपय ठाउँमा प्रतिनिधि छनोटका विषयमा एमाले नेता-कार्यकर्ताबीच हात हालाहाल भएका घटना पनि सार्वजनिक भएका छन्। 

यसैबीच एमालेका सचिव योगेश भट्टराईले आवेग र उत्तेजनाले दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिँदै संयमता अपनाउन एमालेजनलाई अपिल गरेका छन्। 

आइतबार भिडिओ सन्देश जारी गर्दै भट्टराईले भनेका छन्, ‘म सम्पूर्ण महाधिवेशनका प्रतिनिधि कमरेडहरूलाई आग्रह गर्न चाहन्छु। कमरेडरू! आवेगबाट, उत्तेजनाबाट कुनै पनि निर्णय गर्न हामी पुग्यौँ भने त्यल्ले दुर्घटना निम्त्याउँछ। त्यसैले आज नेकपा एमालेका निम्ति आवेग र उत्तेजनाको कुनै पनि अर्थ हुने छैन। त्यसको आवश्यकता छैन। संयमता, धैर्यता, सहकार्य यो नेकपा एमालेको संस्कृति हो।’

यस्तै सचिव भट्टराईले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र पार्टी पुनर्गठनलाई ध्यान दिएर निर्णय गर्न पनि एमाले प्रतिनिधिहरूलाई आग्रह गरेका छन्। 

‘हामीले एकातिर पुनर्गठनको कुरालाई सशक्त ढंगले अगाडि बढाउनु छ भने अर्काेतिर नेकपा एमालेलाई एकताबद्ध गर्ने चुनौती पनि हाम्रोसामु छ। नेकपा एमालेलाई यो महाधिवेशनपश्चात् अझै एकताबद्ध गर्नुपर्नेछ। म सम्पूर्ण पार्टीका प्रतिनिधि कमरेडहरूलाई, विशेषगरी नेतृत्वलाई यी दुइटा कामलाई सन्तुलित ढंगले अगाडि बढाऊँ’, उनले भनेका छन्, ‘पुनर्गठनको काममा सफलता हासिल गर्न र त्यसपश्चात् पार्टीलाई थप एकताबद्ध बनाउन, पार्टीभित्रका अन्तरविरोधहरूलाई व्यवस्थापन गर्न, पार्टीभित्रको लोकतान्त्रिक पद्धतिलाई पुनर्स्थापित गर्न र वास्तविक अर्थमा एमालेलाई जनपक्षीय पार्टीका रूपमा स्थापित गर्न, देशभक्त राष्ट्रवादी पार्टीका रूपमा स्थापित गर्न र लोकतन्त्रवादी पार्टीका रूपमा स्थापित गर्न। कमरेड मदन भण्डारीले दिशानिर्देश गर्नुभएको जनताको बहुदलीय जनवादलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्दै अगाडि बढ्न।’

यस सन्दर्भमा योगेशको पूरा भनाइ यस्तो छ-

हामीले एकातिर पुनर्गठनको कुरालाई सशक्त ढंगले अगाडि बढाउनु छ भने अर्काेतिर नेकपा एमालेलाई एकताबद्ध गर्ने चुनौती पनि हाम्रोसामु छ। नेकपा एमालेलाई यो महाधिवेशनपश्चात् अझै एकताबद्ध गर्नुपर्नेछ। म सम्पूर्ण पार्टीका प्रतिनिधि कमरेडहरूलाई, विशेषगरी नेतृत्वलाई यी दुइटा कामलाई सन्तुलित ढंगले अगाडि बढाऊँ।

पुनर्गठनको काममा सफलता हासिल गर्न र त्यसपश्चात् पार्टीलाई थप एकताबद्ध बनाउन, पार्टीभित्रका अन्तरविरोधहरूलाई व्यवस्थापन गर्न, पार्टीभित्रको लोकतान्त्रिक पद्धतिलाई पुनर्स्थापित गर्न र वास्तविक अर्थमा एमालेलाई जनपक्षीय पार्टीका रूपमा स्थापित गर्न, देशभक्त राष्ट्रवादी पार्टीका रूपमा स्थापित गर्न र लोकतन्त्रवादी पार्टीका रूपमा स्थापित गर्न। कमरेड मदन भण्डारीले दिशानिर्देश गर्नुभएको जनताको बहुदलीय जनवादलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्दै अगाडि बढ्न।

म सम्पूर्ण महाधिवेशनका प्रतिनिधि कमरेडहरूलाई आग्रह गर्न चाहन्छु। कमरेडरू! आवेगबाट, उत्तेजनाबाट कुनै पनि निर्णय गर्न हामी पुग्यौँ भने त्यल्ले दुर्घटना निम्त्याउँछ। त्यसैले आज नेकपा एमालेका निम्ति आवेग र उत्तेजनाको कुनै पनि अर्थ हुने छैन। त्यसको आवश्यकता छैन। संयमता, धैर्यता, सहकार्य यो नेकपा एमालेको संस्कृति हो।

पार्टी भित्र होस् अथवा बाहिर। हामीले शक्तिको भाषा बोलेर कुनै पनि ठाउँमा पुग्न सक्दैनौँ। त्यसैले शक्तिमा होइन, संयमतामा, सहकार्यमा, सहअस्तित्वमा हामी अघि बढ्नुपर्दछ। पार्टीभित्रको विविधतालाई स्वीकार्न सक्नुपर्छ। समाजमा जब विविधता छ भने पार्टीभित्र पनि विविधता छ। नेपाली समाज विविधताबीचको एकता हो। त्यसैगरी पार्टीभित्र पनि विविधताबीचको एकता कायम गर्नुपर्छ। बहुदलीय जनवादको सांगठनिक सिद्धान्त पनि यही हो।

त्यसकारण यी तमाम विषयमा प्रतिनिधि कमरेडरूले पक्कै पनि ध्यान दिनुहुनेछ। सन्तुलित निर्णय गर्ने ठाउँमा तपाईंहरू पुग्नुहुनेछ। म त्यो विश्वास लिन चाहन्छु। तल तराई मधेसदेखि हिमालसम्मका प्रतिनिधि कमरेडहरू विभिन्न जाति, भाषा, धर्म, संस्कृति आबद्ध हुनुभएका, विश्वास गर्नुभएका सम्पूर्ण कमरेडहरू यो पार्टीलाई सबै भौगोलिक क्षेत्रको प्रिय पार्टी बनाउन सबै जाति, जनजाति, भाषाभाषीहरूको प्रिय पार्टी बनाउन हामी अझै खुलस्त हुँदै, एकताबद्ध हुँदै अघि बढौँ।     

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad