गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभाका सांसदहरूले अहिलेकै अवस्थामा निर्वाचन कसरी सम्भव छ भनी प्रश्न गरेका छन्।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपस्थित गृहमन्त्री अर्याललाई निर्वाचनमा जान सरकारले दलहरूको विश्वाससमेत आर्जन गर्न नसकेको बताए।
समिति बैठकमा सांसद पदम परियारले पछिल्लो समयमा एकले अर्कोलाई निषेध गर्ने घटना देखिएको भन्दै निषेधको राजनीतिलाई कसरी काबुमा राख्नुहुन्छ भनी प्रश्न गरे।
‘बाराको घटना, कैलालीको घटना देख्यौं,’ उनले प्रश्न गरे, ‘जेनजी भर्सेस पार्टी, पार्टी भर्सेस जेनजी र पार्टी भर्सेस पार्टी हुने अवस्थालाई सरकारले कसरी काबुमा राख्दैछ?’
यस्तै, सांसद श्रीकृष्णप्रसाद अधिकारीले निर्वाचनमा जानुपर्छ भन्नेमा सबै सहमत भएपनि विश्वासको वातावरण नबनेको बताए।
‘निर्वाचनमा जानका लागि राजनीतिक दलहरूको विश्वास आर्जन गर्नुपर्छ,’ उनले भने, ‘सरकारले विश्वासको वातावरण बनाउन काम गरिरहेको होला। तर, जनतामा अझै शंका छ। यसमा सरकारको ध्यान जाओस्।’
बैठकमा सांसदहरू नरबहादुर विष्ट, गरिमा शाह, रुक्मिणि कोइराला लगायतले शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
Shares

प्रतिक्रिया