नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध बुधबार बिहान धनगढी विमानस्थलमा जेनजी युवाले चर्को नाराबाजी गरेका छन्। राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन उनी धनगढी पुगेका हुन्।
विमानस्थलमा प्रदर्शनकारीहरूले ‘गुण्डुको गुण्डाः गो ब्याक, हत्याराको चेलो, हत्यारालाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। जिल्ला समन्वय समितिको हलमा युवा संघको कार्यक्रम चलिरहँदा पनि बाहिर युवाहरूको प्रदर्शन जारी राखे।
लगातार प्रदर्शनको क्रम बस्नेतविरुद्ध भएको यो पहिलो घटना होइन। मंगलबार सुर्खेतको विरेन्द्रनगरमा पनि उस्तै प्रदर्शन भएको थियो। यसअघि बाराको सिमरा र मोरङको विराटनगरमा समेत जेनजी युवाहरूले उनीविरुद्ध तीव्र नाराबाजी गरेका थिए।
मंसिर ३ गते बाराको सिमरा विमानस्थलमा ठूलो प्रदर्शन भएको थियो, जहाँ जेनजी युवा र प्रहरीबीच झडप समेत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु समेत लगाएको थियो।
मंसिर ७ गते आइतबार विराटनगरमा पनि उनीविरूद्ध प्रदर्शन भयो। विमानस्थलबाट इटहरीतर्फ जाने क्रममा जेनजी युवाले उनको गाडीमा रातो रङ छ्यापेका थिए।
भदौ २३ र २४ को जेनजी आन्दोलनलगत्तै उनले जेनजी युवाहरूलाई आतंककारी भन्ने, टिकटक र रिल बनाउनेहरूलाई कारबाही गर्ने, र सिंहदरबार जलाउनेहरू आतंककारी भएको जस्ता अभिव्यक्ति दिएका थिए।
यस्ता अभिव्यक्ति र घटनाहरूले एमाले र जेनजी समूहहरूबीचको तनाव झन् बढाएको छ। बस्नेतका अभिव्यक्तिले आफ्नो पार्टीभित्र भने उनलाई बलियो बनाइरहेको बताइन्छ।
Shares

प्रतिक्रिया