प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
मंगलबार काठमाडौँमा आयोजित ‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान’ उद्घाटन समारोहमा महिला नियुक्ति र बढुवामा प्राथमिकता दिने बताइन्।
‘म हरेक नियुक्ति र बढुवामा महिलाहरु कहाँ छन् भनेर खोज्ने गरेको छु,’ कार्कीले भनिन्, ‘जहाँ महिलाको उपयुक्तता छ, त्यहाँ उनीहरुलाई अग्रणी भूमिकामा ल्याउने प्रयास गर्नेछौँ। यदि महिलालाई प्राथमिकता नदिएँ भने आफूमाथि नै प्रश्न उठ्नेछ।’
उनले समाजमा महिला हिंसाका जरा गरीबी, शिक्षा अभाव, बेरोजगारी र परम्परागत भेदभावमा रहेको समेत उल्लेख गरिन्। ‘हिंसालाई अन्त्य गर्ने हो भने समाजलाई जागृत गर्नुपर्छ,’ कार्कीको भनाइ छ, ‘छोराछोरीबीच भेदभाव हुनु हुँदैन। गरिबी निवारण, शिक्षा र रोजगारी सिर्जना गरेर महिलालाई अवसर दिनुपर्छ।’
प्रधानमन्त्री कार्कीले विदेश गएका महिलाहरूको बढ्दो प्रताडना र हिंसालाई रोक्न रोजगारी सिर्जना र सुशासन सुनिश्चित गर्नु आवश्यक रहेको पनि बताइन्।
‘जहाँ महिलाको क्षमता र स्थान छ, त्यहाँ उनीहरुलाई प्रोत्साहन र प्राथमिकता दिन सरकार प्रतिबद्ध छ। यदि हामी महिलालाई अघि बढ्न नदिने हो भने हिंसा अझ गहिरो हुनेछ,’ उनले भनिन्।
Shares

प्रतिक्रिया