ad ad

राजनीति


नेकपा सचिवालयको निर्णायक बैठक बालुवाटारमा

नेकपा सचिवालयको निर्णायक बैठक बालुवाटारमा

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ११:४३,

पार्टीभित्र देखिएको विवाद हल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।

विवादास्पद दुई अध्यादेश ल्याएपछि चर्किएको विवाद समाधानका लागि नेकपाको सचिवालय बैठक बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा छलफल नगरी वैशाख ८ गते दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा देखिँदै आएको विवाद चर्किएको हो।

त्यसपछि अध्यक्ष प्रचण्डसहित नेकपाका बहुमत सचिवालय सदस्य उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा जुटेका थिए। उक्त बैठकले तत्काल अध्यादेश फिर्ता लिनको लागि २४ घण्टे अल्टिमेटम दिनुका साथै स्थायी समितिको बैठक बोलाउन माग गरेको थियो।

पार्टीभित्र र बाहिर चौतर्फी विरोधपछि सरकारले अध्यादेश फिर्ता लिए पनि नेकपाभित्रको शक्ति संघर्ष भने उत्कर्षमा पुगेको छ। 

आजको सचिवालय बैठकको एउटा मुख्य एजेण्डा स्थायी समिति बैठकको मिति तय गर्ने रहेको छ। नेकपा स्थायी समितिका २० जना सदस्यले लिखित रुपमा स्थायी समिति बैठक माग गरेका छन्।

पार्टीमा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायत बहुमत सचिवालय सदस्यको अर्को समूहबीच विवाद चर्किएको छ।

प्रचण्ड–नेपाल समूहले स्थायी समिति बैठक राखेर सबै समस्यामाथि छलफल गर्न आग्रह गर्दै आएको छ। प्रधानमन्त्री ओली भने पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट आफुलाई हटाउन खोजिएकोमा असन्तुष्ट छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .