नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट २७ जना केन्द्रीय सदस्यले विशेष महाधिवेशनको माग गरेका नेताहरूसँग छलफल गरेका छन्।
केन्द्रीय सदस्य आङगेलु शेर्पाले विशेष महाधिवेशन माग गर्न अगुवाइ गरेका नेताहरू देवराज चालिसे, गुरूराज घिमिरे, बलदेव तिमल्सिना लगायतसँग ४ घन्टा कुराकानी गरिएको बताए। देउवानिकट केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की, चीनकाजी श्रेष्ठ, तारामान गुरूङ, जानकी सिंह चुनावअघि महाधिवेशनका पक्षमा छन्।
छलफलमा विशेष महाधिवेशन पक्षधरहरूले अब नियमित महाधिवेशन सम्भव नरहेको भन्दै विशेष महाधिवेशनका लागि सहयोग माग गरेका थिए।
देउवा समूहका नेताहरूले प्राथमिकतामा अहिले पनि नियमित महाधिवेशन नै भएको र चुनावअघि उक्त महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए।
नियमित महाधिवेशन गर्दा पार्टीका ७ तहको अधिवेशन हुने र सबै तहका कार्यसमिति चलायमान हुने पनि उनले बताए। साथै जेनजी पुस्तालाई पनि समेट्न सकिने नियमित महाधिवेशन पक्षधरहरूको कुरा थियो।
कांग्रेस केन्द्रीय समिति बैठक मंसिर ११ गते बस्दैछ। आमचुनावमा जाने निर्णय गरेको कांग्रेसले चुनावअघि महाधिवेशनबारे भने अहिलेसम्म निर्णय लिएको छैन। पार्टीभित्र चुनावअघि महाधिवेशन कि पछि भन्नेमा मतभेद छ भने नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने पनि अन्यौल छ। कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि बसिरहेको छ।
Shares

प्रतिक्रिया