सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई गृह जिल्लावासीले भ्रष्ट्राचारमा शून्य सहनशिलताको नीतिअनुसार अगाडि बढ्न र देशमा सुशासन कायम गर्न भूमिका खेल्न आग्रह गरेका छन्।
गृहजिल्ला दोलखा पुगेका उनलाई स्थानीयले स्वागत गर्दै यस्तो सुझाव दिएका हुन्। उनले विद्यालय शिक्षा अध्ययन गरेको श्री कालिनाग माध्यामिक विद्यालयमा अभिनन्दन तथा सम्मान गरिएको छ।
सो क्रममा मन्त्री खरेलले देशको अवस्था परिवर्तनका लागि आवाज उठाउँदा युवाहरूले गोली खानुपरेको भन्दै त्यही जगमा आफू मन्त्री बनेकाले सुशासनका लागि प्रतिबद्ध रहेको बताए।
उनले भने, ‘यहाँहरू सबैलाई जानकारी छ। देशमा सबैलाई अवसर, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता, भ्रष्टाचार अन्त्यको कुरा उठाउँदा धेरै युवाले ज्यान गुमाउनुपर्यो। धेरै अङ्गभङ्ग छन्। मन्त्रालयमा आइसकेपछि आफूले पनि धेरै बेथितिले घेरिएको देखेको छु। यसलाई सङ्लो बनाउन केही दिन, महिना र समय लाग्छ, तर प्रतिबद्ध भएर काम गरिरहेका छौँ।’
मन्त्री खरेल आफ्नो जन्मभुमी कालिञ्चोक–८ सुनखानी भएकाले यस क्षेत्रको माया नमारेको तर हालको विषम परिस्थितिमा आफ्नो क्षेत्र मात्र हेरेर बस्ने अवस्था नरहेको बताए। उनले विद्यालयमा राजनीति नगरी विद्यालय र विद्यार्थीको हितलाई मात्र केन्द्रमा राखेर काम गर्न आग्रह गरे।
मन्त्री खरेलले कुनै नेताको पछि लागेर छोराछोरी र घर परिवारको भविष्यमा खेलवाड नगर्न पनि सचेत गराए। उनले सबै पार्टी खत्तम छन् भन्ने भ्रम चिरेर राम्रो मान्छेलाई अगाडि ल्याउनुपर्नेमा जोड दिए। रासस
Shares

प्रतिक्रिया