समाज


सञ्चारकर्मी दीपेन्द्र खनियाँ : जीवनभर हाँसोको पुल बाँधे, पार गर्न सकेनन् निराशाको खाडल

सञ्चारकर्मी दीपेन्द्र खनियाँ : जीवनभर हाँसोको पुल बाँधे, पार गर्न सकेनन् निराशाको खाडल

नेपालखबर
मंसिर ७, २०८२ आइतबार २०:३८, काठमाडौँ

उनले सधैँ अरुलाई हँसाउने काम गरे। पीरमा परेर झोक्राइरहेकाहरूमा खुसीका तरंग उत्पन्न गराए। पूरै जीवनको उर्जाशील समय हाँस्यव्यंग्य क्षेत्रमा बिताए। त्यही विधामा मिडिया उद्योग चलाए। सञ्चार विधा जुन भए पनि उनले सधैँ एउटै काम गरे– अरुलाई हँसाउने, अरुको अनुहारमा मुस्कान ल्याउने। रेडियोका स्रोताहरूले उनलाई प्रेरणाको स्रोत, हाँस्यव्यंग्य उत्प्रेरकको रूपमा चिन्छन्।

सधैँ हाँसो र व्यंग्यको क्षेत्रमा काम गरेका उनै दीपेन्द्र खनियाँले आइतबार जीवन अन्त्य गरेका छन्। उनले बानेश्वर थापागाउँस्थित ऋषिकेश भट्टको घरमा झुण्डिएर आत्महत्या गरेका छन्। केही समयअघि आफैँले बेचेको सो घरमा उनी भाडामा बस्दै आएका थिए।

उनको व्यवस्थापकीय नेतृत्वमा रेडियो अडियोले नेपाली स्रोतामाझ एउटा छुट्टै परिचय बनाएको थियो। रेडियोले समाचार मात्र सुनाउँदैन, समाजलाई फरक प्रस्तुतिमा सुसूचित र सशक्तीकरण पनि गर्छ भन्ने तथ्य स्थापित गराएको थियो। रेडियो सामग्रीलाई कला, संस्कृति र सामाजिक विमर्शको सशक्त मञ्चको रूपमा विकास गरेका थिए। आफ्नो कामप्रति सधैँ आत्मविश्वासी उनले रेडियो अडियोबाटे धेरै युवा पत्रकारलाई तालिम र कामको अवसर प्रदान गरेका थिए।

कार्यशैलीमा सिर्जनशीलता, स्पष्ट मार्गचित्र र उच्च व्यवसायिकताका कारण उनी आफ्ना योजनामा धेरै हदसम्म सफल रहे।

दीपेन्द्रको खनियाँको व्यावसायिक यात्रा एक साधारण पत्रकारबाट सुरु भएको थियो। करिअरको सुरुवातमा उनी रेडियो सगरमाथामा कार्यक्रम सञ्चालन गर्थे। त्यहाँ रहँदा उनले रेडियोको शक्ति थाहा पाएका थिए। 

आफ्नै व्यवस्थापकीय नेतृत्वको रेडियो अडियो सफल भएपछि उनले सिनेमा क्षेत्रमा पनि हात हाले। दीपकराज गिरी र दीपाश्री निरौलाको आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएका दुई वटा सिनेमा छक्कापञ्जा–३ र छक्कापञ्जा–५ का निर्माता उनी थिए। 

पछिल्लो समय भने उनी रेडियो अडियोको लोकप्रियता बचाउँदै नयाँ तरिकाले काम गर्न कोसिस गरिरहेका थिए। साथीभाइलाई अनौपचारिक गफमा भन्ने गर्थे, ‘रेडियोको शक्ति मरेको छैन। रेडियो अडियोका स्रोता अहिले पनि एक लाखभन्दा बढी छन्। अझै नयाँ गर्नुपर्छ।’

ठूलो संख्याका स्रोताको मायाका कारण उनले ९ महिना अगाडि बतास एड ब्राइटसँग मिलेर एउटा फरक कार्यक्रम डिजाइन गरेका थिए। रेडियो अडियोको १०६‍.३ मेगाहर्जको फ्रिक्वेन्सीबाट भाटभटेनीका २७ वटा स्टोरमा ‘सपिङ एक्सप्रेस’ कार्यक्रम सुन्न मिल्ने बनाएका थिए। यो नेपाली रेडियो दुनियाँमा एउटा फरक अभ्यास थियो। 

उनले संसार छोड्नुअघि भाटभटेनीमा त्यो कार्यक्रम बन्द भएको छ।

दीपेन्द्रसँग काम गरेका हेमराज कार्की उनलाई एउटा रमाइलो, सधैँ हाँस्ने हँसाउने प्रतिबद्ध व्यावसायिक साथीको रूपमा सम्झन्छन्।

‘म छक्क परिरहेछु। सधैँ हाँसीखुसी, रमाइलो देखिने मान्छेले कसरी यस्तो गर्न सक्छ!’ भाटभटेनीमा कार्यक्रम बजाउने प्रक्रियामा सहकार्य गरेका उनी भन्छन्, ‘मैले पत्याउनै सकिरहेको छैन।’

रचनात्मकता र व्यवस्थापन दुवैमा अब्बल दीपेन्द्रको सक्रियताले नेपाली मनोरञ्जन उद्योगलाई नयाँ उचाइमा पुर्‍याउन सघायो। सार्वजनिक जीवनमा सफल र ऊर्जावान देखिएका उनी पछिल्लो समय आर्थिक दबाबमा पर्दै गएका थिए। बानेश्वर थापागाउँस्थित उनको निजी निवास बिक्री भइसकेको थियो। सोही घरबाट रेडियो अडियो पनि सञ्चालन हुँदै आएको छ।

व्यक्तिगत जीवनका अप्ठ्यारा घुम्ती र संघर्ष सामना गर्ने क्रममा उनी मानसिक स्वास्थ्य समस्यामा परेको यो घटनाले देखाएको छ।

करिअर सुरु गर्दै गरेको पत्रकार र मिडिया उद्यम थाल्दै गरेको लगानीकर्ताका लागि दीपेन्द्र खनियाँ सधैँ एउटा प्रेरणाको कथा बनेर रहनेछन्।सीमित स्रोतसाधनका बाबजुद कसरी मिडिया सफल पार्ने भनेर उदाहरणको रूपमा सम्झिइनेछन्।

उनको दुःखद अन्त्यले परिवार सदस्यलाई ‘राम्रो गर्दैछु, चिन्ता नगर’ भन्दै ढाडस दिने अनि  साथीभाइलाई ‘ठिक छ यार’ भन्दै जोक सुनाउनेहरू मानिसक बिरामी पनि हुन सक्छन् है भन्ने सन्देश दिएको छ। जस्तोसुकै अँध्यारो क्षणमा पनि सहयोग र समर्थन खोज्नुपर्छ भन्ने सन्देश पनि छोडेको छ। दीपेन्द्र खनियाँको आत्माले शान्ति पाओस्!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad