राजनीति


‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ आज घोषणा गरिँदै, कार्यक्रमको अध्यक्षता सन्तोष परियारले गर्ने

‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ आज घोषणा गरिँदै, कार्यक्रमको अध्यक्षता सन्तोष परियारले गर्ने

बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार (फाइल फोटो)


नेपालखबर
मंसिर ७, २०८२ आइतबार ८:२७, काठमाडौँ

बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका सन्तोष परियारबीच एकतापछि बनेको 'प्रगतिशील लोकतान्त्रिक पार्टी' आज (आइतबार) घोषणा गरिँदै छ।

परियारले नेपालखबरलाई दिएको जानकारीअनुसार निर्वाचन आयोगले तोकेको मितिभित्र दर्ता गरिसकिएको सो पार्टी आज औपचारिक रूपमा घोषणा गर्न लागिएको हो। 

उनका अनुसार काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आज बिहान ११ बजे पार्टी एकता घोषणा कार्यक्रम हुनेछ।

यसअघि गत कात्तिक २८ गते नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच एकता सहमतिपत्रमा हस्ताक्षर भएको थियो। 

‘आज पार्टी घोषणा कार्यक्रम मेरो अध्यक्षतामा हुन्छ’, परियारले आइतबार बिहान नेपालखबरसँग भने, ‘नेतृत्वका विषयमा बाँकी कुरा पछि मिलाउँदै जाने कुरा छ।’

पार्टी नेतृत्वका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले थपे, 'हामी सामूहिक समावेशीको सिद्धान्तमा नेतृत्व गर्छौं, हामी क्लस्टरवाइज अध्यक्ष परिषद् राख्छौँ, आज दुईतीनजना अध्यक्ष परिषद्- म, सुदन किराँती र दुर्गा सोबलगायत केहीको आज घोषणा हुन्छ, बाँकी मान्छे टुंगिएको छैन, त्यसमा काम गर्नै बाँकी छ।'

गत कात्तिक १९ गते माओवादी केन्द्रसहित १० वटा वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएपछि प्रचण्डबाट अलग हुँदै जनार्दन शर्माले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए भने रास्वपालाई समाजको विशिष्ट बनावट र चरित्रको पार्टी बनाउन नसकिएको भन्दै कात्तिक २८ गते सन्तोष परियारले पार्टी छाडेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad