राजनीति


एमाले लक्षित कांग्रेसको टिप्पणी- उत्तेजना फैलाउने कार्य वाञ्छनीय हुन सक्दैन

गगन थापा भन्छन्– उत्तेजनाको नेतृत्व एउटा दलले गरिरहेको छ, शान्तिको नेतृत्व नेपाली कांग्रेसले गर्दछ
एमाले लक्षित कांग्रेसको टिप्पणी- उत्तेजना फैलाउने कार्य वाञ्छनीय हुन सक्दैन

नेपालखबर
मंसिर ६, २०८२ शनिबार १७:०, काठमाडौँ

नेपाली कांग्रेसले अर्को दल नेकपा (एमाले)तर्फ लक्षित गर्दै जबरजस्ती उत्तेजना र निषेधको भाव फैलाउने गरेको आरोप लगाएको छ। 

असोज २८ गतेदेखि सुुरु भएको केन्द्रीय कार्य समिति बैठक शनबिार समापन गर्दै महामन्त्री गगन थापाले एमालेको नाम नलिइ केही राजनीतिक दल र समूहले उत्तेजना फैलाउने काम गरेको टिप्पणी गरे।

‘केही राजनीतिक दल र समूहको तर्फबाट जबरजस्ती उत्तेजना फैलाउने, प्रतिशोध, निषेधको भाव फैल्याउने काम भएको छ,’ थापाले भने, ‘सरकारलाई थप अन्योलतामा लैजाने प्रवृत्ति देखिएका छन्। यो गलत छ, यसको विरुद्धमा हामी उभिन्छौँ।’

उनले कांग्रेसले भने शान्तिको नेतृत्व गर्ने बताए। ‘उत्तेजनाको नेतृत्व एउटा दलले गरिरहेको छ, शान्तिको नेतृत्व नेपाली कांग्रेसले गर्दछ,’ थापाले भने।

कांग्रेसले एक महिनाभन्दा लामो समय चलेको बैठकपछि विभिन्न १६ बुँदे निर्णय गरेको छ। आफ्नो औपचारिक निर्णयमा पनि कांग्रेसले त्यही भाषा प्रयोग गरेको छ। 

‘विद्यमान शान्ति-सुरक्षाको अवस्था र पछिल्ला दिनमा बढिरहेका उत्तेजक तथा अराजक गतिविधि प्रति नेपाली कांग्रेस गम्भीर चिन्ता व्यक्त गर्दछ,’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘यस्तो संवेदनशील अवस्थामा कुनै पनि राजनीतिक दल, समूह वा पक्षबाट कुनै पनि नाममा हिंसा भड्काउने, सद्भाव खल्बलाउने, उत्तेजना वा घृणा फैलाउने कार्य कदापि वाञ्छनीय हुन सक्दैन।’

निर्णयमा अगाडि भनिएको छ, ‘त्यस्तै, लोकतान्त्रिक व्यवस्था र विधिको शासनमा लहड वा आवेगमा कसैलाई निषेध गर्नु, शान्तिपूर्ण प्रदर्शन तथा विचार अभिव्यक्तिमा बन्देज लगाउने प्रयास गर्नु स्वाभाविक वा स्वीकार्य मान्न सकिँदैन। यस्तो कार्य संविधानको आधारभूत मूल्य मान्यता विपरीत छ। यसले समाजमा थप ध्रुवीकरण र हिंसा निम्त्याउने सम्भावना बढाउँछ। अतः अहिले उत्तेजना होइन, संयमः निषेध होइन, संवादः अविश्वास होइन, विश्वास र समझदारी आवश्यक भएकोले कुनै पनि हिंसा वा उत्तेजनाको बाटो नअपनाउन, निषेधको राजनीति नगर्न तथा संयमता अपनाएर संवाद मार्फत समाधान खोज्न सम्बद्ध सबै पक्षलाई नेपाली कांग्रेस आव्हान गर्दछ।’

त्यस्तै कांग्रेसले सबै राजनीतिक दललाई चुनावमा भाग लिन समेत आह्वान गरेको छ। ‘यसका लागि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक छ,’ कांग्रेसले भनेको छ, ‘साथै, निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्वद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad