नेकपा (एमाले) कासचिव योगेश भट्टराईले बाराको सिमरामा एमालेको कार्यक्रम विथोल्ने प्रयास भएपछि देशको शान्ति सुरक्षामाथि गम्भीर चिन्ता उत्पन्न भएको बताएका छन्।
बुधबार महासचिव शंकर पोखरेल र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत सहभागी हुने कार्यक्रम युवाहरूको समूहले विथोल्न खोज्दा बारामा तनाव भएको छ।
पोखरेल र बस्नेतलाई बारा जान नदिन युवाहरूले विरोध प्रदर्शन गरेपछि उत्पन्न तनावबीच अहिले कर्फ्यू आदेश जारी गरिएको छ।
भट्टराईले सामाजिक सञ्जालमा सो घटनाप्रति दुःख व्यक्त गर्दै देशको एक ठाउँबाट अर्को ठाउँमा निर्विवाद हिँडडुल गर्न पाउने तथा शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउने अधिकारको सम्मान गर्न सबैमा अपिल गरेका छन्।
‘नेकपा एमाले महासचिव कमरेड शंकर पोखरेल सहभागि हुने पूर्व घोषित कार्यक्रम बिथोल्न गरिएको हर्कतले मुलुकको शान्ति सुरक्षामाथि गम्भीर चिन्ता उत्पन्न गरेको छ’ भट्टराईले लेखेका छन्, ‘देशको एक ठाउबाट अर्को ठाउमा निर्विवाद हिडडुल गर्न पाउने तथा शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको सम्मान गर्न सबैमा अपिल गर्दछु।’
उनले यस्ता गतिविधिले आसन्न निर्वाचनलाई थप अन्योल र अनिश्चयतिर धकेल्ने कुरामा सचेत रहन र शान्ति सुव्यवस्था कायम राख्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएका छन्।
Shares

प्रतिक्रिया